काठमाडौ, ३ वैशाख । रुसले औपचारिक रूपमा संयुक्त राज्य अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ।

उक्त चेतावनी मस्कोले एउटा कूटनीतिक नोटका माध्यमबाट दिएको हो जसको प्रतिलिपिलाई अमेरिकी सञ्चारमाध्यमहरूले परीक्षण गरेका छन्।

दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो।

त्यसमा अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले भविष्यवाणी गर्न नसकिने परिणाम निम्त्याउन सक्ने बताइएको छ।

युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बिहीवार बाहिर आउन थालेपछि उक्त नोट पठाइएको थियो।

त्यसको केही घण्टापछि अमेरिकी राष्ट्रपति बाइडनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन गर्नुभएको थियो जसमा पहिलो पटक लामो दूरीमा पनि निशाना लगाउनसक्ने होविटजर्सजस्ता हतियार थिए।

पछिल्लो सैन्य सहायताको प्याकेजमा हतियारहरू, ड्रोन, बख्तरबन्द गाडीहरू र हेलिकोप्टरहरू पनि छन्।

त्यसलाई युक्रेनको सामर्थ्यलाई त्यहाँ देखिएका रुसी सैन्य क्षमतासँग बराबरी गर्ने कदमका रूपमा लिइएको थियो।

एक जना वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गरिए अनुसार उक्त चेतावनीलाई अमेरिका र नेटोद्वारा युक्रेनमा उपलब्ध गराइएको सैन्य सहयोग प्रभावकारी बनिरहेको मस्कोको चिन्ताका रूपमा हेरिनुपर्छ।

अमेरिकाले उपलब्ध गराउने भनेको सैन्य सहयोगको पहिलो किस्ता केही दिनपछि युक्रेन पुग्नेछ।

रुसले हाल युक्रेनको पूर्वी भेगमा आफ्नो कारबाहीलाई केन्द्रित गरेको छ र केही दिन डोनबास क्षेत्रमा लडाइँ चर्कने ठानिएको छ।

युद्ध सुरु भएयता अमेरिकाले तीन अर्ब डलर बराबरको सैन्य सहयोग युक्रेनलाई उपलब्ध गराएको छ।

युरोपेली देशहरूले पनि युक्रेनलाई शक्तिशाली किसिमका हतियारहरू उपलब्ध गराउँदै आएका छन्।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर