काठमाडौ, १६ चैत । टर्कीमा भएको शान्तिवार्तापछि रुसले उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने बताएको छ।

रुसका उपरक्षामन्त्रीले आपसी विश्वास बढाउनका लागि त्यस्तो कदम चाल्न लागिएको बताउनुभएको छ ।

यसलाई रुस र युक्रेनबीचको शान्तिवार्तामा २४ फेब्रुअरीदेखि आरम्भ भएको युक्रेनविरुद्धको रुसी अतिक्रमण यता देखिएको प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको प्रारम्भिक सङ्केत सकारात्मक देखिएको बताउनुभएको छ तर त्यस्तो बैठकबाट प्राप्त हुने ठोस नतिजालाई मात्र किएभले विश्वास गर्नेमा जोड दिनुभएको छ ।

पश्चिमा नेताहरूले पनि रुसको प्रतिबद्धताहरूमाथि शङ्का व्यक्त गरेका छन्।

संयुक्त राज्य अमेरिकाले उ मस्को गम्भीर छ भन्ने कुरामा अझै विश्वस्त हुन बाँकी नै रहेको बताएको छ भने ब्रिटेनले रुसलाई उसको बोलीको आधारमा नभई कामको आधारमा मूल्याङ्कन गरिने बताएको छ।

अतिक्रमण जारी
युक्रेनको सशस्त्र सैन्य बलका अनुसार ती दुई क्षेत्रबाट केही रुसी सैन्य एकाइहरू हटेका भएपनि मस्कोले पूर्णस्तरको सशस्त्र अतिक्रमण जारी नै राखेको छ।

उनीहरूका अनुसार रुसी सेना पूर्वी युक्रेनको केही भागमा केन्द्रित हुनकालागि पुनः सङ्गठित हुँदै छन्।

राष्ट्रपति जेलेन्स्कीले भन्नुभएको छ अवस्था सहज भएको छैन र युक्रेनको सेनाले उसको प्रतिरक्षात्मक कदमहरूलाई खुकुलो पार्ने छैन।

किएभमा रहेका बीबीसीका जेरमी बावेन भन्छन् त्यहाँ रुसी आक्रमण पहिले नै सुस्त भैसकेको थियो।

रुसीहरूले यथार्थ अवस्था अनुसार नै प्रतिक्रिया जनाएका जस्तो देखिन्छ। तिनीहरूले शहरमा प्रवेश गर्न खोजेका थिए। तर तिनीहरू सफल भएनन्। तिनीहरूले धेरै युद्ध सामग्री गुमाउनु परेको छ तैपनि शहरको प्रतिरक्षामा कुनै कमी देखिएको छैन। त्यो अझ बलियो भएको मैले आफै देखेको छु, जेरमी बावेनले भने।

शङ्का
टर्कीमा भइरहेको वार्तास्थल बाहिरबाट बीबीसीका टम बेटमन भन्छन् थुप्रै पश्चिमा पर्यवेक्षकहरूले रुसको प्रतिबद्धताप्रति शंका व्यक्त गरेका छन्।

टर्कीमा रुस र युक्रेनबीच भैरहेको शान्तिवार्ताको यो चरणको आतिथेय टर्कीका राष्ट्रपति रिचेप तैयिप एर्डोआनले इस्तानबुलस्थित उहाँको कार्यालयमा गर्नुभएको थियो ।

धेरै वार्ताबाट ठोस उपलब्धि हासिल हुनेमा आशावादी देखिएका थिएनन्।

मङ्गलवार मात्रै युक्रेनको दक्षिणमा अवस्थित मिकोलाइभमा रहेको एउटा प्रशासनिक भवनमा भएको भीषण हमलामा कम्तीमा १२ जनाको ज्यान गएको थियो।

तर कूटनीतिक दृष्टिले हेर्दा वार्तामा उल्लेखनीय प्रगति देखिएको आतिथेय टर्कहरूले दाबी गरेका छन्।

प्रत्याभूति

वार्तामा संलग्नहरूका अनुसार तीनीहरूले रुसका सामु प्रस्तुत गरेका विकल्पहरूमा युक्रेनले सुरक्षाको प्रत्याभूतिका बदलामा तटस्थ भूमिका अपनाउने कुरा प्रस्ताव गरेका थिए।

उनीहरू एउटा त्यस्तो अन्तर्राष्ट्रिय संयन्त्रको स्थापना होस् भन्ने चाहन्छन् जसमा आबद्ध प्रत्याभूतिदाता राष्ट्रहरूले भविष्यमा युक्रेनको सुरक्षाका निम्ति आवश्यक कदम चाल्नेछन्।
बदलामा किएभले नेटो गठबन्धनको सदस्यता नलिने प्रस्ताव गरिएको थियो जुन रुसको एक प्रमुख माग पनि हो। यो नयाँ प्रतिबद्धता नभएपनि स्पष्ट रूपमा प्रस्तुत गरिएको थियो।

रुसका उपरक्षामन्त्री एलेक्सान्डर फोमिनले वार्ता अब व्यवहारिक चरणमा पुगेको बताउनुभयो ।

र उहाँले रुसले किएभ र चेर्नीहिभ क्षेत्रमा आक्रामक गतिविधिहरूमा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको बताउनुभयो ।

बोली हैन काम
थप वार्ताका लागि आवश्यक विश्वासको वातावरण तयार पार्ने उद्देश्यले त्यस्तो कदम चालिएको उहाँको दाबी थियो।

धेरैले रुसी कदमको अर्थ के हुन्छ भन्नेमा संशय व्यक्त गरेका छन्। पश्चिमा देशहरूले तिनीहरूले रुसको बोली भन्दा पनि उस्को कामलाई हेर्ने बताएका छन्।

यो संघर्षविराम वा द्वन्द्वको अन्त्यको कुनै पनि हिसाबले नजिक पुगिएको अवस्था होइन तर युक्रेनले वार्ता जारी नै राखिने बताएको छ।

उसले आफ्नो सुरक्षाको प्रत्याभुति हुने प्रस्तावको भागका रूपमा अन्य देशहरूलाई पनि सहभागी गराउने चाहना राखेको छ। र मस्कोले वार्तालाई उस्कै शब्दमा सिर्जनात्मक भनेको छ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर