काठमाडौँ, २८ फागुन । पुरातत्व विभागले काठमाडौँ महानगरपालिका वडा नं २७ मा रहेको छुस्याबहाल विहार परिसरको लाछी क्षेत्रमा उत्खनन् सुरु गरेको छ । महानगरपालिकाले विहारको पाटी रहेको पुरातात्विकस्थल क्षेत्रमा वडा कार्यालयको भवन बनाउन शिलान्यास गरेपछि स्थानीय सम्पदा अभियानकर्मीले विरोध गर्दै आएका थिए ।

अभियानकर्मीले विभागमा उजुरी गरेपछि भवन बनाउन रोकेर शुक्रबारदेखि उत्खनन सुरु गरिएको विभागका महानिर्देशक दामोदर गौतमले   जानकारी दिनुभयो । यस सम्बन्धमा थप कुरा उत्खननको प्रतिवेदन आएपछि नै भन्न सकिने उहाँले बताउनुभयो । उत्खनन नसकिएसम्म विभागको टोलीले काम गर्ने जनाइएको छ ।

महानगरपालिकाले भने वडा कार्यालय बनाउन लागेको जग्गा विहारको नभई क्लबका नाममा रहेको जनाएको छ । महानगरपालिका वडा नं २७ का अध्यक्ष चिनियामान बज्राचार्यले ज्याठा युवा क्लब र बोधी विकास स्कूलका नाममा रहेको कित्ता नं २१३१ को जग्गामा भवन बनाउन शिलान्यास गरिएको जिकिर गर्नुभयो । क्लबका नाममा रहेकोे चार आना एक पैसा जग्गामा भवन बनाउन लागिएको थियो ।

विहारका नाममा रहेको जग्गाको कित्ता नं १७५८ को भएको जानकारी दिँदै उहाँले विभागले उत्खनन गर्न लागेपछि भने वडा कार्यालयले सहयोग गरेको र यसमा कुनै अवरोध नगरिने उहाँको प्रतिबद्धता थियो । सम्पदा अभियानकर्मी आलोकसिद्धि तुलाधरले प्रताप मल्लका पालामा सडकसँगै जोडिएको खुला भाग अर्थात् लाछी भनी उल्लेख भएको जग्गा कसरी विद्यालय र क्लबका नाममा गरियो भनी खोजी भइरहेको बताउनुभयो ।

यहाँ पहिले पाटी र लोकेश्वरको मन्दिर पनि थियो । पाटी भत्किएपछि मन्दिर विहारभित्र राखिएको छ । पाटीको भग्नावशेष अझै त्यहाँ रहेको उहाँले जानकारी दिनुभयो । सडकसँगै विहारका नाममा रहेको सार्वजनिक जग्गा अन्यत्र पनि यसैगरी मिचिएको छ । यसरी मिचिएका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थलको खोजी भइरहेको अभियानकर्मीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर