काठमाडौ, २० फागुन । चीनको नेतृत्वमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) ले रुस र बेलारुसमा आफ्ना सबै वित्तीय गतिविधि बन्द गरेको छ ।

एआईआईबीले ‘विकसित हुँदै गएको आर्थिक एवं वित्तीय परिस्थिति’लाई मध्यनजर गर्दै रुस र बेलारुसमा आफ्ना सबै गतिविधि बन्द गरेको जनाएको हो । उक्त बैंकको कदमलाई युक्रेन हमलापछि प्रतिबन्ध एवं विरोध खेपिरहेको रुसप्रति चिनियाँ समर्थन सीमित हुँदै गएको अर्थमा हेरिएको छ ।
‘व्यवस्थापनले यी परिस्थितिका कारण एवं बैंकको अधिकतम हितलाई मध्यनजर गर्दै रुस र बेलारुससँग सम्बन्धित सबै गतिविधि बन्द एवं पुनरावलोनक गर्ने निर्णय गरेको छ’, बेइजिङस्थित बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संसारभर १०५ सदस्य रहेको बहुपक्षीय विकास बैंक एआईआईबीले रुस र बेलारुसमा सबै व्यावसायिक गतिविधि बन्द गर्नुको कारण प्रस्ट रुपमा खुलाएको छैन । तर प्रभावित सबैप्रति आफ्नो समर्थन एवं सहानुभूति प्रकट गरेको छ । ‘हामीले पीडामा रहेका सबैप्रति सहानुभूति राख्छौं’, बैंकले भनेको छ ।
बैंक अफ चाइनासहित कैयौं सरकारी वित्तीय संस्थाले रुसी तेल एवं कम्पनीसँग जोडिएका कारोबारका लागि आर्थिक सहयोग बन्द गरेपछि एआईआईबीले समेत रुस र बेलारुसमा आफ्ना गतिविधि बन्द गर्ने घोषणा गरेको हो ।

एआईआईबीले रुसमा ८० करोड अमेरिकी डलर बराबरका दुई वटा परियोजनामा लगानी गरेको छ तर बेलारुसमा भने हालसम्म कुनै परियोजना सुरु भएको छैन ।

विश्व बैंकलगायतका पश्चिमी वित्तीय संस्थाको वर्चस्वलाई काउन्टर दिँदै सन् २०१६ मा स्थापित बैंकको पछिल्लो कदमलाई सांकेतिक रुपमा बुझ्नु पर्ने हङकङस्थित नाटिसिसका वरिष्ठ अर्थशास्त्री गेरी नग बताउँछन् ।

‘चीनबाट रुसलाई सीमा वारपार प्राप्त हुने अधिकांश कर्जा नीतिगत बैंकले प्रदान गर्न सक्छन् तर यो कुनै पनि भू(राजनीतिक कदमबाट हुने लाभ तथा हानिको लेखाजोखा गरिरहेको चीनले रुसलाई निशर्त समर्थन नगर्न पनि सक्छ भन्ने कुराको अर्को उदाहरण हो’, अलजजिरासँग कुरा गर्दै नगले भने ।

एआईआईबीको बहिर्गमनले रुसमाथि लगाइएका विश्वव्यापी आर्थिक प्रतिबन्धको दबाब बहु राष्ट्रिय संगठनमा समेत प्रस्ट देखिन थालेको पनि नगको बुझाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर