काठमाण्डौं, ११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी बैशाख भित्रै सम्पन्न गर्ने गरी यथाशीघ्र मिति तोक्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले आज मंगलबार एक विज्ञप्ति निकालेर सरकारलाई यस्तो आग्रह गरेको हो ।यसअघि आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको थियो ।
त्यसपछि गत पुस ९ गते पनि प्रधानमन्त्रीलाई भेटेर आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए ।
काँग्रेस सभापति देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकार भने स्थानीय तहको निर्वाचनको मिति तोक्न आलटाल गरिरहेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ : ‘वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति बिलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ । अत यथा शीघ्र निर्वाचनको मिति तोकियोस् ।’
२०७४ सालमा वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरण ष्री तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन अनुसार पहिलो चरणमा भएको निर्वाचनको मिति बैशाख ३१ लाई आधार मानेर आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने संवैधानिक र कानुनी बाध्यता रहेको स्पष्ट पारेको छ ।
