काठमाडौं , २१ पुस । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरिअन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार एकै दिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार सङ्क्रमित थपिएका छन्।हाल अमेरिकामा पुष्टि भएका सङ्क्रमित मध्य अधिकांशमा ओमिक्रोन भेरिअन्ट पाइएको छ।
सरकारी पहलबारे आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन्।
यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा निकै कम रहे पनि अस्पताल भर्ना हुन आउनेहरूको सङ्ख्या बिस्तारै उकालो लागिरहेको बताइएको छ।भारतको राजधानी नयाँ दिल्ली र अर्को ठूलो सहर मुम्बईमा पनि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ।
भारतमा पनि कडाइ
मङ्गलवार भारतमा ३७ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् जुन एक सातामा पाँच गुणा वृद्धि रहेको विज्ञहरूले बताएका छन्।
धेरैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताइएको छ। कुल सङ्क्रमित मध्य झन्डै एक तिहाइ दिल्ली र मुम्बईमा छन्।
खोप सम्बन्धी एउटा कार्यदलका प्रमुख डा एनके अरोराले सोमवार एनडीटीबीलाई भारतमा कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको बताएका छन्।
कोभिड सङ्क्रमण फैलने क्रम बढ्दै गएसँगै राज्य सरकारहरूले पुनः प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन्।
मङ्गलवार भारतको राजधानी दिल्लीका अधिकारीहरूले सप्ताहान्तमा कर्फ्यु लगाउने निर्णय गरेका छन्।सबै गैर अत्यावश्यकीय गतिविधिमा शुक्रवार राति देखि सोमवार बिहान सम्म प्रतिबन्ध लगाइने छ।
गत हप्ता दिल्लीमा व्यायामशाला र सिनेमा हल बन्द गरिएको थियो भने रात्रिकालीन कर्फ्यु लागु गरिएको थियो।
दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल कोभिडबाट सङ्क्रमित भएको केही घण्टा पछि सप्ताहान्तमा कर्फ्यु लगाउने निर्णय सार्वजनिक गरिएको थियो।
सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको छ।गैरसरकारी कार्यालयहरूलाई आधा क्षमतामा काम गर्न निर्देशन दिइएको छ।पन्जाब सरकारले रात्रीकालीन कर्फ्यु जारी गरेको छ र सबै विद्यालय तथा कलेजहरू बन्द गरिएका छन्।
कैयौँ भारती राज्यहरूले हालसालै कोभिडका कारण कडा प्रतिबन्धात्मक नियमहरू लगाएका छन्।तर दशौँ हजार मानिसहरू सहभागी हुने राजनीतिक प्रदर्शनहरूमा रोक लगाइएको छैन।-श्रोत- बीबीसी
