काठमाडौँ, १४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ ।
अहिले देशभरिका कतिपय उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको र दिनको समयमा घाम नलागेका कारण अधिकतम तापक्रम घटेको मौसमविद्हरू बताउँछन्। कतिपय स्थानमा तापक्रम झरेर शून्यमुनि माइनसको मानमा पुगेको छ।
जुम्ला, ताप्लेजुङ, जिरी र जोमसोम आदि क्षेत्रमा अहिले तापक्रम माइनसमा गएको महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा सिमरामा सबैभन्दा धैरै वर्षा भएको छ । विभागका अनुसार सिमरामा १३ मिलिमिटर पानी परेको छ।त्यसपछि धेरै पानी भैरहवामा र डडेल्धुरामा परेको छ। भैरहवामा १२ दशमलव ६ र डडेल्धुरामा १२ दशमलव २ मिलिलिटर वर्षा भएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १० दशमलव ७ मिलिलिटर वर्षा भएको छ ।
रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ ।
आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गए रातिदेखि बाक्लो हिउँ पर्नाले आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उहाँले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
