अमेरिका, २३ मंसीर । फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ।
अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा सानो अध्ययनपछि जनाएको छ।
यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो।
विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्।
ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो।
बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएका छन्।
तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै वास्तविक प्रभावकारिता मूल्याङ्कन गर्नका लागि तथ्याङ्क सङ्कलन जारी राख्ने बताएको छ।
फाइजरले ओमिक्रोनलक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ।
उक्त खोप नियामक निकायहरूबाट स्वीकृत हुनुपर्छ।
प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरिअन्ट वा अन्य स्ट्रेनभन्दा बढी बिरामी नपार्ने देखिएको डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक डा.माइक रायनले जानकारी दिएका छन्।
अमेरिकामा वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्याएको देखिएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२०मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन्।
