अमेरिका, १७ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गर्नुभएको छ ।

मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडनले जलवायु एउटा ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताउनुभएको हो ।

उहाँले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाउनुभयो ।

ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्।

तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्।

विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ।

रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ।

यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन्।
देशहरूले सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने र त्यही वर्षभित्र मिथेन ग्यासको उत्सर्जनलाई पनि सीमित गर्ने विश्वव्यापी प्रतिबद्धतामा सहमति जनाएका छन्।

वनविनाश अन्त्य गर्ने प्रतिबद्धतामा चीन र रुस दुवैले हस्ताक्षर गरेका छन्।

बाइडनले मङ्गलवार सम्मेलनमा बोल्न सुरु गर्नुअघि रुसी राष्ट्रपतिले कोप२६ मा वन व्यवस्थापनसम्बन्धी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्नुभएको थियो ।

क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार पुटिनले रुसले वनको संरक्षण सशक्त र जोडदार रुपमा गर्ने बताउनुभयो।

अहिलेसम्मका वार्तामा चीन, रुस र साउदी अरेबियालगायतका देशले अहिलेसम्म कस्तो भूमिका खेले भन्नेबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा अमेरिकी राष्ट्रपतिले रुस र चीनबारे त्यस्तो टिप्पणी गर्नुभएका्े हो ।

चिनियाँ राष्ट्रपतिको अनुपस्थितिलाई बाइडनले ठूलो गल्ती भन्नुभएको छ ।

उहाँले भन्नुभयो, चीनले विश्व नेताका रुपमा विश्वमा आफ्नो नयाँ भूमिका रहेको देखाउन खोजिरहेको छ र यहाँ भने देखाएको छैन।

बाइडनले पुटिनबारे पनि त्यस्तै धारणा राख्दै रुसको जङ्गल क्षेत्र डढिरहेको र त्यहाँका राष्ट्रपति त्यस्तो मुद्दाबारे मौन बसेको आरोप लगाउनुभयो ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति किन उपस्थित हुन सक्दैनन् भन्नेबारे कुनै कारण दिएनन्।

उपस्थितिबारे गत अक्टोबरमा घोषणा गर्दै पेस्कोभले जलवायु परिवर्तन रुसको महत्त्वपूर्ण प्राथमकितामा रहेको बताएका थिए।

अक्टोबर महिनामा नै अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित नहुने ठानिएकोबारे यूकेका प्रधानमन्त्री बोरिस जोनसनलाई सचेत गराउनुभएको थियो ।

 

सन् २०२० को सुरुदेखि नै राष्ट्रपति सी चीनबाट बाहिर कतै नगएको ठानिएको छ।

गत सेप्टेम्बरमा राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्यूट्रल अर्थात् जति कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ त्यतिनै मात्रामा कार्बनडाइअक्साइड वातावरणबाट सोस्ने अवस्थामा चीनलाई पुर्‍याउने घोषणा गर्नुभएको थियो ।

राष्ट्रपति पुटिनले पनि अक्टोबर १३ मा भएको उर्जासम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा रुस सन् २०६० भन्दा ढिला नगरी कार्बन न्यूट्रलको अवस्थामा पुग्ने बताएका थिए।

नेट जिरो अर्थात् कार्बन न्यूट्रल बन्नुको अर्थ वायु मण्डलमा हरित गृह ग्यासको मात्रा नथप्नु भन्ने हो।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर