ककनी, १२ कात्तिक  ।   बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिनुहुन्छ ।

दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्नुहुन्छ । नजिकै आएकालाई शरीरको हाउभाउबाट प्रतिक्रिया दिनसक्ने हजुरआमाका आमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको छ ।

लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ । तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो । नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामिछाने फाउण्डेशनले निर्माण गरेको बाला भवन बिहीबार हस्तान्तरण कार्यक्रममा यी हजुरआमालाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो ।

उहाँ झण्डै पाँच घण्टासम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बस्नुभयो र सहभागीको आकर्षणको केन्द्र भइरहनुभयो । ‘मलाई आशीर्वाद दिनुस् आमा’ भन्दै खुट्टा ढोग्न पुग्नेलाई टाउकामा हात राखिदिने, ‘मलाई चिन्नुभो ?’ भन्नेहरुलाई एकछिन हेरेर हाँसिदिनेजस्ता उहाँका व्यवहार टाढाबाट त्यहाँ पुगेकाका लागि अप्रत्यारिला लाग्थे तर उहाँलाई वर्षौैँदेखि देखिरहेका छिमेकी केदार भण्डारी भन्नुहुन्छ, “उहाँ बलियो हुनुहुन्छ, अझै केही वर्ष केही हुँदैन, तर राज्यले उहाँलाई विश्वकै ज्येष्ठको पहिचान दिलाउन भने ढिलाइ गर्नु हुँदैन ।”

लामिछानिका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई पिसाब आउँदा उठेर हिँड्न पनि सक्ने र त्यसक्रममा लड्नसक्ने भएकाले एक जनाले नियमित रेखदेखको काम गर्ने गरेको बताउनुहुन्छ । बुहारी ईश्वरी लामिछानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्पताल लैजान नपरे पनि पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि खुवाउने गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी उहाँलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।

नेपालमा सय वर्षमाथिका नागरिक करिब चार हजार छन् ।

मैनालीले लामिछानेलाई मासिक रु पाँच हजार खर्च पनि दिँदै आउनुभएको छ भने गाउँपालिकाले मासिक रु १० हजार भत्ता दिँदै आएको छ । सो भवन निर्माणका लागि छिमेकी देवकी धितालले आठ आना जग्गा दान गर्नुुभएको थियो । ककनीस्थित प्रहरी चौकीबाट चार किलोमिटरको ओरालो मोटरबाटोमा रहेको यस स्थानको जग्गाको मूल्य हाल प्रतिरोपनी करिब रु १२ लाख रहेको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्त कार्कीले कोषका तर्फबाट लामिछानेको रेखदेखका लागि संलग्नलाई मासिक रु पाँच हजार दिने निर्णयबारे अवगत गराउनुभयो ।   गिनिज बुकमा नाम लेखाउन पहल गर्दै आउनुभएका रामकृष्ण कर्मार्चाले उक्त प्रक्रिया अब अन्तिम चरणमा रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिक क्षेत्रका अर्का अभियानकर्मी मोहन केसीले नेपालमा जेनेटोलोजीबारे शिक्षण संस्था र अस्पताल हुनुपर्ने माग गर्नुभयो । स्थानीय राजनीतिकर्मी काशीनाथ अधिकारीले गिनिज बुकमा नाम लेखाउन सङ्घीय सरकारबाट पहल हुनुपर्ने र कम्तीमा नेपालभरिको ज्येष्ठ नागरिक भनेर प्रमाणपत्र दिन ढिलाइ गर्न नहुने आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर