काठमाण्डौं, १० कार्तिक । सत्तसीन पार्टी नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति फेरि पर सर्ने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार, आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति पर सर्ने भएको हो ।

यो निर्णयले काँग्रेस केन्द्रिय समितिको आगामी बैठकमा प्रस्तावको रूपमा पेस भएर बैठकले अनुमोदन गरेपछि औपचारिकता पाउनेछ ।

हिजो मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार महाधिवेशनको मिति पर सार्दै नयाँ कार्यतालिका बनाएको हो ।

त्यो छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले मंसिर महिनाभित्रै महाधिवेशन सम्पन्न हुने गरी नयाँ कार्यतालिका बनाउन निर्देशन दिनुभएको थियो । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका बनाएर निर्णय-प्रस्ताव तयार गरेको हो ।

यो समेत गरी काँग्रेसले महाधिवेशनको मिति चौथो पटक पर सारेको हो । यसअघि पछिल्लो पटक मंसिर ९ गते महाधिवेशन आरम्भ गरेर १३ गते सक्ने निर्णय गरिएको थियो ।

पहिलो पटक काँग्रेसले २०७७ सालको फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

महाधिवेशन तयारीको सन्दर्भमा काँग्रेसले अहिलेसम्म ६४ वटा जिल्लाको वडा गरिसकेको छ । ती जिल्लाका कतिपय पालिका अधिवेशन पनि सम्पन्न भैसकेका छन् ।

१३ जिल्लाको वडा अधिवेशन भने हुन सकेको छैन । क्रियाशील सदस्यता विवादको कारण सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँकेको वडा अधिवेशन रोकिएको हो ।

अब भने रसुवा र रौतहट  बाहेक ती विवादित जिल्लाको क्रियाशील सदस्यता टुंगो लागि सकेको छ । यी दुई जिल्लाको विवाद पनि लगभग टुंगोमा पुगिसकेको छ ।

प्रस्तावित नयाँ कार्यतालिका अनुसार, यी १३ जिल्लाको वडा कात्तिक २७ हुने छ भने कात्तिक ३० गते पालिका अधिवेशनहरू  हुने छन् ।

त्यसैगरी मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति प्रस्ताव गरिएको छ । प्रस्ताव अनुसार, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर