काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताउनुभएको हो ।
“केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई÷दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उहाँले भन्नुभयो । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उहाँले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिनुभएका युवाहरुका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “कांग्रेसको महत्वपूर्ण खम्बा भनेको तरुण हो, पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ,” उहाँले भन्नुभयो ।
कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल विसं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो । पुनः विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनस्र्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ ।
