काठमाडौँ, ७ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ  प्रस्थान गर्नु भएको छ । उहाँ बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथर जानुहुने उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको छ । उहाँ आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

बाढी-पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि  सरकारले पीडितलाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्ने तयारी गरिरहेको छ । गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति भएको छ ।

यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र शुक्रबार सुदूरपश्चिमका बाढी, पहिरो र डुबान प्रभावित जिल्ला पुगेर सो क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर