काठमाडौं , ५ कात्तिक । विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट ८० हजारदेखि १,८०,००० को बीचमा उनीहरूको मृत्यु भएको हुन सक्ने जनाएको छ।
सन् २०२० को ज्यानुअरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
खोपको अन्यायपूर्ण वितरणलाई लिएर उनले आलोचना पनि गरेका छन्।यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोभिड महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएका थिए।
विश्वभरि अनुमानित १३ करोड ५० लाख स्वास्थ्यकर्मी छन्।विश्वका ११९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएका छन्, महानिर्देशक टेड्रोसले भने।
तर निश्चित रूपमा त्यो औसतले क्षेत्रहरू र आर्थिक समूहहरूबीच विद्यमान व्यापक भिन्नतालाई ढाकछोप गर्छ।
उनका अनुसार अफ्रिकामा दशजना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् जबकि उच्च आय भएका देशमा दशमध्ये आठ जानले खोप लगाइसकेका छन्।–श्रोत, बीबीसी
