काठमाडौँ, २९ असोज । बडादसैँको मुख्य दिन आज विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल देखिएको छ ।
घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् ।
आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ । त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।
राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिनुभयो ।
यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै उहाँले सर्वसाधरणलाई टीका लगाइदिनु भएन । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।
प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण
प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिनुभयो । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिनुभएको थियो ।
यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधरणलाई टीका लगाइदिनु भएन । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।
