काठमाडौँ, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति गर्नुभयो । “निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहिनताको अन्त्य गर्नसक्छ, शक्तिबाट प्रभावित नभइ निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु”, राजधानीमा आज आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले भन्नुभयो ।
विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा सङ्गठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरी फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रधानमन्त्री देउवाले प्रहरीलाई सुझाव दिनुभयो । उहाँले प्रहरी सङ्गठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अङ्गको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको सन्दर्भ जोड्नुहुँदै प्रधानमन्त्री देउवाले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले प्रहरीलाई व्यावसायिक सफलताको शुभकामना पनि दिनुभयो ।
उक्त समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले अपराध अनुसन्धान तथा त्यसको नियन्त्रण, अनुशासन र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधानस्रोत सम्पन्न गराउने विषयमा सरकार गम्भीर रहेको जानकारी दिनुभयो । उहाँले नयाँ चुनौती सामना गर्न प्रहरीलाई सरकारको पूर्ण साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जनाउनुभयो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लागिएको जानकारी दिनुभयो । उहाँले व्यावसायिक, जुझारु र आँटिला प्रहरी कर्मचारीका कारण नेपाल प्रहरी अविच्छिन्न अस्तित्वमा रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले पहिलो महिला प्रहरी (पूर्व प्रहरी सहायक निरीक्षक) चैतमाया डङ्गोललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो । उहाँले विसं २००८मा पहिलो महिला प्रहरीको रुपमा सेवा थाल्नुभएको थियो । झण्डै ९० वर्ष पुग्नुभएकी डङ्गोलले ३२ वर्ष प्रहरीमा सेवा गर्नु भएको थियो । प्रहरी दिवसको अवसरमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । त्यसमध्ये सात जनालाई काठमाडौँबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमार्फत सम्मान गरिएको थियो ।
