काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार पदक प्रदान गर्नुभएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिनेछ ।यसैगरी, राष्ट्रगौरवका रूपमा रहेको पदवी यसपटक पूर्वप्रधानमन्त्री झलनाथ खनाल र स्वर्गीय सुवर्ण शमशेर जबरालाई प्रदान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् ।
यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गर्नुभएको छ ।
राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गर्नुभएको छ ।
