काठमाण्डौं, ३० भदौ । नेपाली काँग्रेसले क्रियाशील सदस्यको विवाद रहेका २१ मध्ये ८ जिल्लाको नामावली आज बुधबार सार्वजनिक गरेको छ। विवाद टुंगिएका ती जिल्लाको नामावली काँग्रेसको केन्द्रीय निर्वाचन समितिमा हिजो पठाइएको थियो ।
विवाद समाधान गरेर सदस्यता सार्वजनिक गरिएका थप ८ जिल्लामा काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा रहेका छन् ।
निर्वाचन समितिले यी जिल्लाको सदस्यता नामावली पार्टीको वेबसाइटमा आज राखेको छ ।
यसअघि चार पटक गरेर ३८, १०, ५ र ३ जिल्ला गरी जम्मा ५६ जिल्लाको क्रियाशील सदस्यको सूची काँग्रेस पार्टीको वेवसाइटमा राखिएको गरिएको थियो ।
आज थप भएका ८ सहित ६४ जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक भएको छ ।
अब विवाद बाँकी रहेका जिल्ला १३ छन् ।
बाँकी यी १३ जिल्लाको पनि विवाद समाधान गरेर सदस्यता सूची सार्वजनिक गरी असोज ५ गते सबैमा वडा अधिवेशन सक्ने काँग्रेस निर्वाचन समितिको तयारी छ ।
नेपाली काँग्रेसको वडा अधिवेशन गत १८ गतेबाट सुरु भएको हो । विवादित जिल्ला २१ वहेक ५६ जिल्लामा वडा अधिवेशन भैसकेका छन् ।
तर सदस्यता विवाद समाधान भएर वडा अधिवेशन गरिएको डडेल्धुरा जिल्लमा भने पुन विवाद बल्झिएको छ । डडेल्धुरा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । त्यस जिल्लामा देउवाले पुराना र खाँटी काँगेस सदस्यको नाम कटाएर नयाँ आफन्तहरूलाई सदस्यता दिलाउनु भएको आरोप छ ।
त्यहाँ सदस्यहरूको नाम सार्वजिनक हुनेवित्तिकै यसको विरोध भएको थियो । विरोधका वावजूद वडा अधिवेशन गरियो ।
देउवा समर्थक वहेक अन्यले डडेल्धुराको वडा अधिवेशनमा भाग लिएनन् । जिल्ला सभापतिले नै अधिवेशन वहिष्कार गर्नुभयो । उहाँले क्रियाशील सदस्यता वितरणमा देउवाले धाँधली गरेको आरोप लगाउनु भएको छ ।
केन्द्रबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललले त्यसलाई वैधानिकता दिन नहुने भन्दै डडेल्धुराको वडा अधिवेशन पुनः गराउनु पर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसले आफ्नो १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गराउने समय तलिका बनाएको छ ।
