काठमाण्डौं, ११ भदौ । नेपाली काँग्रेसका पौडेल पक्षीय शीर्ष नेताहरूको एक बैठकले सबै वडाहरूको अधिवेशन एकैचोटी १८ भदौमा नै सक्नुपर्ने र त्यसनिम्ति एक/ दुइदिन भित्रै क्रियाशील सदस्यको पूर्ण नामावली सार्वजनिक गर्न सभापति देउवासँग भेटेर कुरा गर्ने निर्णय गरेको छ ।
बैठक नेपालको प्रजातान्त्रिक आन्दोलनका लौह पुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहको निवास क्षेत्रपाटी, चाक्सीबारीमा बसेको थियो ।
आज शुक्रबार बिहान बसेको त्यो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, भूतपूर्व उपसभापति प्रकाशमान सिंह, भूतपूर्व सह-महामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी तथा केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालाको उपस्थिति थियो ।
देउवालाई पौडेल पक्षीय नेताहरूले सकेसम्म आजै भेट्ने छन् ।
काँग्रेसले आफ्नो १४ औं महाधिवेशन आगामी मंसिर ९-१३ मा सम्पन्न गर्ने गरी पछिल्लो कार्यतालिका सार्वजनिक गरेको छ । त्यसमा सबैभन्दा पहिले यही भदौ १८ गते बडा अधिवेशनहरू गर्ने मिति तय छ ।
तर वडाअधिवेशनको लागि आजबाहेक पूर्ण ६ दिन बाँकी रहेको अवस्थामा पनि काँग्रेसले क्रियाशील सदस्यता विवाद सल्टाउन सकेको छैन । काँग्रेसको वडा अधिवेशनमा क्रियाशील सदस्यहरू मतदाता हुन्छन् ।
आजको मितिसम्म काँग्रेसको केन्द्रिय निर्वाचन समितिले जम्मा ३८ वटा जिल्लाको सदस्यता नामावली प्रप्त गरेको छ । बाँकी ३९ जिल्लाका वडाहरूको सदस्याता नामावली पार्टी सभापति शेरबहादुर देउवाको पकड र उहाँका रणनीतिकारको पहुँचमा मात्र छ ।
देउवा त्यो नामावली काँग्रेसको वेभसाइटमा राखेर सार्वजिक गर्न आनाकानी गरिरहनुभएको छ । देउवा १८ गते नै सबै वडाको अधिवेशन सक्ने र अहिले एकैचोटी सबै सदस्यको सूची सार्वजनिक गर्ने पक्षमा पनि हुनुहुन्न ।
यता केही दिनदेखि काँग्रेसका जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा रिले अनसनमा छन्।
पौडेल पक्षीय नेताहरूले अनसनमा बसेका समापतिहरूको माग समयोचित भएको बताउँदै त्यसमा ऐक्यबद्धता जनाएका छन् ।
निर्वाचन सममितिले ७७ जिल्लाकै नामावली आएपछि मात्रै वेबसाइटबाट क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्ने बताएको छ।
काँग्रेसको क्रियाशील सदस्यता वितरण विवाद लगभग डेढ वर्ष कचल्टिएर रह्यो । केन्द्रिय सदस्य रमेश लेखकको संयोजकत्वमा बनेको र देउवाका खास मान्छेको आधिक्य रहेको क्रियाशील सदस्यता छानविन समितिले तत्काल उठेका विवादको समाधान नै नगरी अपुरो प्रतिवेदन बुझायो ।
अन्त्यमा यो विवाद सल्टाउन उनै रमेश लेखकलाई नै राखेर नेताहरू कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाललाई जिम्मा दिइयो ।
यो टोलीले विवाद टुंग्याउने सैद्धान्तिक र नीतिगत सूत्र तयार पारेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई प्रतिवेदन पनि बुझायो।
तर त्यो सूत्र अनुसार क्रियाशील सदस्यता विवाद टुंग्याउने व्यवहारिक काम भने भएको छैन । देउवा स्वयंले त्यसमा अरुचि देखाउनु भएको छ ।
विशेष गरेर वारा, सप्तरी, पर्सा, सर्लाही लगायतका जिल्लमा सदस्यता वितरणको विवाद तीव्र छ ।
विवाद नदेखिएका भनिएका अन्य कतिपय जिल्लाको सदस्यता वितरणमा पनि देउवा पक्षले मनोमानी गरेको पौडेल पक्षको आरोप छ ।
पौडेल पक्षको भनाई छ, देउवाले त्यही मनोमानी लुकाउन सबै सदस्यको नामावली एकैचोटी र समय छँदै सार्वजनिक नगर्नु भएको हो ।
हिजै एक सार्वजनिक कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले देउवाले पार्टी “कब्जा गर्न” लागेको बताउनु भएको छ। उहाँ स्व मंगलादेवीको स्मृतिमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो ।
