काबुल, १ भदौ । तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।

शरिया कानून इस्लाम धर्म को धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो ।

तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ ।

“पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,” सामञ्जनीले माफी को घोषणा गर्दै भन्नुभयो । शरिया कानुन बमोजिम महिलालाई पनि सरकारमा सहभागी हुन दिइएको छ तर उहाँहरू शरिया कानुन अनुसार सरकारी संरचनामा रहनुपर्दछ ।

अफगानिस्तानको प्रमुख टिभी स्टेशन टोलो न्युजले उसको एक महिला कार्यक्रम सञ्चालिकाले मंगलबार तालिवानको सञ्चार समूहका सदस्य सामाङ्गिनीको अन्तरवार्ता प्रसारण गरेको थियो । उक्त कार्यक्रममा ती तालिवान सदस्यले सरकारको संरचना अझै पूर्ण रुपमा स्पष्ट नभएको तर अनुभवका आधारमा पूर्ण इस्लामिक नेतृत्व हुनुपर्ने र सबै पक्षलाई समाबेश गरिने बताएका थिए ।

तालिबानले अफगानिस्तानलाई कसरी शासन गर्ने भन्ने विषयमा घोषणाहरूमा स्पष्ट भएका छैनन् । तर साङ्केतिक रूपमा उनीहरूले इस्लामी “सिद्धान्त“ अनुसार हुनेछ ।

इस्लामी कानुन शारियको कठोर व्याख्या अनुसार शासन गर्ने तालिबानको अधीनमा महिलाहरू धेरै हदसम्म आफ्नो घरमा मात्र सीमित थिए । विद्रोहीहरूले हालैका वर्षहरूमा यसमा केही लचक बन्ने प्रयास गरेका भएपनि थुप्रै अफगानीहरू नै तालिवानले सत्ता सञ्चालनका क्रममा देखउनसक्ने शैलीप्रति शङ्का व्यक्त गरेका फ्रान्स–२४ टेलिभिजनले उल्लेख गरेको छ ।

तालिबानसँगको वार्ताकालागि गुल्बुद्दिन दोहा जाने तयारी
अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउनका लागि गठन भएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको छलफलका लागि दोहा जाने भएका छन् ।

परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको अल जजिराले जनाएको छ ।

राष्ट्रपति अशरफ गनी देश छाडेर गएपछि पूर्व राष्ट्रपति हामिद कारजाईको अगुवाईमा तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद गठन भएको हो । राष्ट्रपति गनीले देश छोडेर ठूलो खाडल सिर्जना गरेको कारजाइले बताउनुभयो ।

राष्ट्रपति गनीले देश छोडेको थाहा पाउने बित्तिकै आफूले पूर्व नेताहरुसँग छलफल गरेको र अव्यवस्था आउन नदिनका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरिएको उहाँले उल्लेख गर्नुभयो ।

आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेको थियोे । अफगानिस्तानमा २० वर्षपछि तालिबान समूहको सत्तामा फर्किँदै छ । अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाने निर्णय गरि सो अनुसार प्रक्रिया थालेको डेढ महिना भित्रै तालिबानले अफगान देशमा आफ्नो नियन्त्रण कायम गरेको हो ।

आइतबार बेलुका तालिबान लडाकु राष्ट्रपति कार्यालयमा गएका थिए । तालिबानले नागरिकको ज्यानमा जोखिम नरहेको बताए पनि त्रास अत्यधिक मात्रामा बढेको छ । विशेषगरि महिलाको अधिकारका क्षेत्रमा भएको प्रगति पुनः कमजोर बन्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर