बेइजिङ,३२ साउन । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि चीनले अफगानी जनताको इच्छा र छनोटको चीनले सम्मान गर्ने जनाएको छ ।
बेइजिङमा आज पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र मन्त्रालयले सो प्रतिक्रिया सार्वजनिक गरेको छ
‘अफगानिस्तानको ४ दशक लामो युद्ध स्थगित भएर शान्ति प्राप्त होओस् भन्ने चाहना ३ करोड भन्दा बढी अफगानी मात्रै नभएर अन्तर्राष्ट्रिय समुदाय, क्षेत्र र देशहरूको रहेको थियो’, पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले भन्नुभयो ।
आइतबार अफगानिस्तानमा तालवानले युद्धको अन्त्य भएको र समावेशी तथा खुला इस्लामिक सरकार गठनका साथै जनताको सुरक्षाको जिम्मा लिने तालिवानी नेताहरूको भनाइमा आफूले ध्यान दिएको भन्दै प्रवक्ता ह्वाले भन्नुभयो, ‘यी भनाइहरूको कार्यान्वयन हुने र स्थितिको शान्तिपूर्ण रूपान्तरण तथा सबै प्रकारका अपराध तथा आतंकवादको अन्त्य हुनेमा चीन आशावादी छ।’
अफगानिस्तानमा रहेको चिनियाँ दूतावास र कर्मचारीहरूले सामान्य रूपमा आफ्नो काम जारी राखेको पनि उहाँले वताउनुभयो ।
यसअघि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने घोषणा भएपछि तालिवानका नेताहरूले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। जुलाई २८ तारिख तालिवान पोलिटिकल कमिटिका प्रमुख बारादार र पार्टीका अन्य नेताहरूसँग बेइजिङ नजीकको थ्यानचिन सहरमा मन्त्री वाङ यीले भेटवार्ता गरेको चिनियाँ विदेश मन्त्रालयको वेबसाइटले उल्लेख गरेको छ।
भेटमा मन्त्री वाङले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीतिबारे ब्याख्या गर्नुभएको थियो ।
मन्त्रालयको वेबसाइटमा सार्वजनिक तस्बिरअनुसार वाङ यीले व्यक्तिगत तथा सामूहिक रूपमा फोटो खिचाउनुभएको थियो ।
