काठमाण्डौं, ३१ साउन । नेपाली काँग्रेसले आफ्नो पार्टीका क्रियाशील सदस्यको अधिकार कटौती गरेको छ । विधानमा गरिएको नयाँ संशोधित व्यवस्था अनुसार, अब क्रियाशील सदस्यले गाउँ/नगरपालिकाहरूको अधिवेशनमा भाग लिन पाउने छैनन् ।

काँग्रेसको केन्द्रिय समितिको हिजो बसेको बैठकले पार्टीको विधानमा त्यस किसिमको संशोधन गरेको हो । यो संशोधन आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।

संशोधित व्यवस्था अनुसार, वडाका क्रियाशील सदस्यहरूको अन्तरपार्टी मताधिकार वडामा नै सीमित गराइएको छ । उनीहरूलाई गाउँ पालिका, नगर/उप-महानगर र महानगर पालिकाको अधिवेशनको सदस्यबाट हटाइएको छ ।

बैठकले पारित गरेको विधान संशोधन यस्तो छ : विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः “गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य” भनिएकोमा “गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि” भनी संशोधन गर्ने ।

यो व्यवस्था अनुसार वडाका क्रियाशील सस्यहरूले पहिले झैं गाउँ वा नगरहरूको कार्यसमिति चुन्न पाउने छैनन् । यो संशोधनले पालिकाहरूको कार्यसमिति चुन्ने मताधिकार वडा सभापति र क्षेत्रीय प्रतिनिधिलाई मात्र दिइएको छ ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व चयनको सन्दर्भमा पनि अब काँग्रेसका सबै क्रियाशील सदस्यको अधिकार रहने छैन । त्यसमा पनि पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनिएकोमा वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने  भनी संशोधन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर