काठमाण्डौं, २९ साउन । यो सिजनको इङ्लिस प्रिमियर लिग आज राति शनिबारदेखि सुरु हुँदैछ । इङ्ग्ल्याण्डका घरेलु बीस फुटबल क्लवबीच हुने यो खेलस्पर्धा त्यसपछि लगभग नौ महीना चल्नेछ ।
फुटबल प्रतियोगिताहरूमा सर्वाधिक रुचि र महत्वका साथ हेरिने यो प्रतियोगिताको यसपालिको पहिलो खेल शनिबारको राति पौने एक बजे ब्रेन्टफोर्ड र आर्सनलबीच हुँदैछ ।
ब्रेन्टफोर्ड पहिलो पटक प्रिमियर लिग खेल्दैछ ।
प्रिमियर लिगमा भाग लिने बीस टिमले एक अर्कोसित २/२ पटक गरेर यौटा टिमले कुल ३८ पटक खेल्नुपर्दछ ।
शनिबार साँझ साविकमा शीर्ष दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले लिड्स युनाइटेडसँग र लिभरपुलले नर्विच सिटीसित खेल्नेछन् ।
त्यसैगरी सोही रात यसै पटकको च्याम्पियनस लिग विजेता चेल्सीले क्रिस्टल प्यालेससँग भिड्दैछ ।
प्रिमियर लिगको साविक विजेता म्याचेस्टर सिटीको प्रारम्भ स्पर्धा पर्सी आइतबार साँझ टोटनह्यामसँग हुनेछ ।
यो सिजनको प्रिमियर लिगको आन्तिमका ३८ औं खेलहरू २०२२ मे को २२ तारिख एकै समयमा हुनेछन् ।
विश्वका फुटवल पण्डितहरूले हाल शीर्ष चारमा रहेका सिटी, म्यान युनाइटेड, लिभरपुल र चेल्सीका साथै टोटनह्याम र लिस्टर सिटीलाई प्रिमियर लिग कपको दावेदारको रुपमा चर्चा गर्न थालेका छन् ।
प्रिमियर लिगको उपाधिको लागि मात्रै हैन कि शीर्ष चारमा पर्नकै लागि पनि यो स्पर्धामा ठूलो भिडन्त हुन्छ ।शीर्ष चारमा पर्ने टिमले च्याम्पियनस् लिग खेल्ने अवसर पाउँछन् ।
