काठमाण्डौं, २४ साउन । जापानमा भैरहेको ओलम्पिक खेलमा अमेरिका कूल ११० पदक हात पार्दै पहिलो स्थानमा उक्लिएको छ । तर स्वर्ण पदकमा भने अमेरिका र चीन बराबर छन् ।
आजै आइतबार बिहान सम्पन्न भएको महिला बास्केटल र साइक्लिङ ट्राकमा स्वर्ण पदक जित्दै अमेरिकाले स्वर्णमा चीनसित बराबरी गरेको हो ।
यो बराबरीसँगै अमेरिका शीर्षस्थानमा पुगेको हो ।
ओलम्पिकमा स्वर्ण पदक धेरै जित्नेलाई पहिलो मानिन्छ । आज विहानअघिसम्म रजत र कास्य पदक बढी भए पनि अमेरिका दोस्रो स्थानमा थियो ।
बिहानसम्म दुई स्वर्ण पदक बढी हुँदा चीनको अग्रता कायमै थियो । अब दुबैको स्वर्ण पदक ३८/३८ छ । कूल पदकतालिकामा अमेरिका चीनभन्दा २३ पदकले अघि भएको छ । उसको कूल पदक संख्या ११० छ ।
अहिलेसम्मको परिणाम अनुसार, ३३३ स्वर्णको छिनोछानो भएको छ भने त्यसमा अमेरिकाले ३८ स्वर्ण, ३९ रजत र ३३ कास्य पदक हासिल गरेको छ ।
दोस्रो स्थानमा झरेको चीनले समान ३८ स्वर्ण, रजत ३१ र १८ कास्यसहित कूल ८७ पदक जितेको छ।
