सिमकोट, १ साउन । नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ ।
सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो ।
नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताउनुभयो ।
कर्णाली करिडोरको खुलालु–लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गर्नुभएको थियो ।
सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गर्नुभएको हो ।
सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडक निर्माण पूरा गरेको हो । निमार्ण भएको कूल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर सडक पर्छ ।
कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ ।
खुलालु–लैफु हुँदै सलीसल्ला खण्डको काम विसं २०७० मा सेनाले शुरु गरेको थियो भने हुम्ला खण्डमा २०७३ चैत ९ गतेबाट निर्माणकार्य शुरु गरेको थियो ।
