काठमाण्डौं, २९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज मंगलबार साँझ प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
सभापति देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको हो।
राष्ट्रपति भण्डारीले गत जेठ ७ गते संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेपछि त्यतिबेलै विपक्षीगठबन्धनको समर्थनमा १४९ जना सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्री दावी गर्नुभएको थियो । तर राष्ट्रपतिले देउवालाई नियुक्त गर्नुको साटो उक्त दावीमा आधार नपुगेको भन्दै तत्कालिन प्रम के पी ओलीको सिफारिसमा प्रतिनिधिसभा नै विघटन गरिदिनुभएको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै हिजो सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।
प्रधानमन्त्री देउवाका साथै आजै बालकृष्ण खाँड, जनार्दन शर्मा, ज्ञनेन्द्रबहादुर कार्की र पम्फा फुसालले मन्त्री पदको शपथ लिनुभएको छ ।
प्रमं देउवाले बालकृष्ण खाँडलाई गृह, जनार्दन शर्मालाई अर्थ, ज्ञनेन्द्रबहादुर कार्कीलाई न्याय कानून तथा संसदीय मामला र पम्फा फुसाललाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेबारी दिनुभएको छ ।
नयाँ मन्त्रीहरूमा २ जना खाँड र कार्की नेपाली काँग्रेस र २ जना शर्मा र भुसाल नेकपा माओवादी केन्द्रका हुनुहुन्छ ।
शेरबहादुर देउवा यसपटकसमेत गरी पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
यसअघि उहाँ पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री हुनुभएको थियो भने त्यसपछि २०५८ साल, २०६१ साल र २०७४ सालमा प्रधानमन्त्री हुनुभएको थियो।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिनुभएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।
देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घका निर्वाचित सभापति एवम् संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ ।
