मकवानपुर, २९ असार । मकवानपुरका फरक दुई स्थानमा आज बिहान करिब ५ः३० बजे दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका थिए ।
त्यसैगरी हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।
दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भनिने करिब ५० वर्षीय पुरुषको शव बिहान ७ः०० फेला परेको प्रहरीले जनाएको छ ।
डिके भनिने पुरुषको थप पहिचान खुल्न सकेको छैन ।
