काठमाडौँ, २५ असार । चीनबाट खरीद गरिएको कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो ।
बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले जानकारी दिनुभयो ।
उहाँले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिनुभयो ।
सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन ।
अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउने वताइएको छ । यसैगरी असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । उहाँले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिनुभयो । मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ ।
खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ । नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ ।
