काठमाडौँ, १३ कात्तिकः नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, लागुऔषध र हतियारसहित ३१ जना पक्राउ परेको छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मूलकोटबाट एक सय ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका–१ घर भएका २८ वर्षीय प्रकाश थापा र सप्तरीको सुरूङ्गा नगरपालिका–२ घर भएका २२ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङको रतुवामाई नगरपालिका–६ बाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र एक राउन्ड गोलीसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको अररिया घर भएका कुमार बोसाक, पुरनकुमार बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ घर भएका योगेन्द्र ठाकुर रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा दीपक कुमारले पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको थियो । त्यसक्रममा दीपककुमार र पुरनकुमार घाइते भएका छन् । उनीहरूको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ ।
मोरङकै रतुवामाई नगरपालिका–१० पोखरी बाँधबाट ६६ ट्याब्लेट ट्रामाडोल र ८६ ट्याब्लेट स्पास्पेनसहित झापा दमक नगरपालिका–४ का सुमन सुवेदी पक्राउ परेका छन् । उनलाई प्रहरीचौकी इटहराबाट खटिएको टोलीले बिहीबार बेलुकी पक्राउ गरेको हो ।
मिक्लाजुङ गाउँपालिका–९, गणेशचोकबाट पाँच सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–८ घर भएका २८ सन्तोष सार्की र कुशल दाहाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–४ बर्मेली चोकबाट छ सय तीन ट्याब्लेट ऐनारगन र छ सय तीन ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ बस्ने अस्मिन कुइँकेलसहित दुई जना रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको ना२४प ७८२२ नम्बरको स्कुटरसमेत बरामद गरेको छ ।
भरतपुर महानगरपालिका–१५ प्रगति टोलबाट दुई ग्राम सात सय २० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ३१ ट्याब्लेट ट्रामाडोल र एक थान डिजिटल तराजुसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २६ वर्षीय नवीन गुरुङ र २६ वर्षीय अमृत गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो ।
धनकुटा नगरपालिका–१ हिलेबाट दुई ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–५ बस्ने २६ वर्षीय सुरज तामाङ र धनकुटा नगरपालिका–१ बस्ने २७ वर्षीय शिशिर बस्नेत रहेका छन् । प्रहरीचौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–६ लगनखेलबाट सात सय पाँच ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । बटुकभैरव बस्ने भारतका गौतमकुमार र प्रयागपोखरी बस्ने भारतकै २० वर्षीय आलोक जैसवाल रहेका छन् । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार बेलुकी पक्राउ गरेको हो ।
झापाको कनकाई नगरपालिका–४ शान्ति टोलबाट ७७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २५ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीबाट ३०० एम्पुल डाइजिपाम, ३०० एम्पुल बुप्रेनोर्फिन र ३०० एम्पुल फेनारगनसहित कास्कीको पोखरा महानगरपालिका–३२ तल्लो खुदी बस्ने १९ वर्षीय उज्वल विक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले गण्डकी एएबि ३२२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
बाँकेको बैजनाथ गाउँपालिका–५ गुरुवा गाउँबाट पाँच सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित मक्सुद अहमद इद्रिसी पक्राउ परेका छन् । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाबाट ४९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लछु रानासमेत रहेका छन् ।
कञ्चनपुरकै लालझाडी गाउँपालिका–१ नौरङ्गाबाट दुई ग्राम ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार बेलुकी पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली डाँडाबाट ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२ कर्नेल टोल बस्ने किशोर लिम्बू एक ग्राम ५१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले बिहीबार राति उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट दुई सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको खजुरा गाउँपालिका–५ बस्ने गोविन्द डाँगी पक्राउ परेका छन् ।
प्रहरीचौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारबाट २०० ग्राम पोलेनसहित रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई काठमाडौँको कलङ्की बस्ने उमेश दियाली पक्राउ परेका छन् ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३–०२–००५ प ५०९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
–––
