कास्की, ६ कात्तिकः जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए । दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनाको विश्लेषण गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ । तीव्र गतिमा चलाएका कारण २० वटा दुर्घटना भएका छन् । कास्कीका गत असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाइते भएका थिए ।

“असोजमा अन्य महिनाका तुलनामा धेरै दुर्घटना भएको छ । विद्यालय बस दुर्घटनामा धेरै मानवीय क्षति भयो । यसका अलावामा अन्य साना दुर्घटनासमेत गत महिनामा बढी भए । चालकको लापरवाही र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ”, प्रनाउ पासवानले भन्नुभयो ।

प्रहरीका अनुसार दुर्घटनाका अन्य कारणमा मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण १०, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा दुर्घटना भएका छन् ।

प्रहरीले असोज महिनामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ३९ लाख ९८ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, विपद्का घटनामा जिल्लामा दुई जनाको मृत्यु भएको छ । सुक्खा पहिरोमा परेर दुई जना पुरुषको ज्यान गएको थियो । असोज महिनामा कास्कीमा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका छन् ।

अविरल वर्षाका कारण चार घरमा आंशिक क्षति पुगेको छ भने चट्याङका घटनामा तीन चौपायाको मृत्यु भएको छ ।

यसैगरी प्रहरीले प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा सात वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाएको छ । उक्त कारबाहीबाट रु एक लाख १४ हजार राजस्व सङ्कलन भएको बताइन्छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर