काठमाडौँ, १३ असार । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न सो दिन बिहान ११ बजे बैठक डाकिएको दलका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । सो निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट दलको एकता कायम राख्ने कोशिश भइरहेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको साङ्गठनिक स्थितिका आधारमा दललाई अघि बढाउन तत्पर भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्न नमानेका कारण एकता वार्तामा थप समस्या आएको छ ।माधव नेपाल लगायतका नेताहरुमाथिको कारवाहीको विषयमा समेत अब सोही बैठकले थप निर्णय गर्ने भएको छ ।
बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिई कर्णालीका चार सांसदलाई अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको विषयमा समेत छलफल भएको बताइएको छ ।
सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
आजको बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिइएको नेता ज्ञवालीले बताउनुभयो ।
