सुलीकोट, (गोरखा) १८ भदौ । भोटेकोशी रसुवा आएको बाढीका कारण त्रिशूली नदीमा वगेका ७२ वटा शव तथा शरीरका अंग गोरखाको विभिन्न स्थानमा फेला परेका छन् ।
बिहीबार दिउँसो १ बजेसम्म सो शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले भन्नुभयो, ‘हालसम्म फेला परेका ७२ वटा शवहरूमध्ये ५९ वटा शवको व्यावस्थापन, प्रदेश अस्पताल गोरखामा ७ तथा पहिचान भएका ४ वटा शव परिवारलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।’
बुधबार दिउँसोदेखि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र जनप्रतिनिधिको टोलीले गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाका त्रिशूली किनारमा शव व्यवस्थापनमा खटिइएको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनुभयो ।
प्रहरीले गोरखाको गण्डकी गाउँपालिका–८ को धवादीघाट, वडा नम्बर ६ को भूम्लिचोक, वडा नम्बर १ को बुट्टार, वडा नम्बर ४ को ठेउवाटार र वडा नम्बर ७ को ज्यामिरेघाटस्थित त्रिशूली नदी तथा सहिद लखन गाउँपालिका–४ सिलिङटारस्थित त्रिशुली नदी किनारमा शव फेला परेको उहाँले जानकारी दिनुभयो ।
घटनापछि सम्बन्धित प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले शव तथा मानव अंग सुरक्षित रूपमा संकलन गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।
