काठमाडौ, २४ साउन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनसम्वन्धमा अदालतमा पुगेको मुद्दामा सानका साथ प्रस्तुत भएर ‘डिफेन्ड’ गर्ने बताउनुभएको छ ।
सभापति थापाले उक्त कुरा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बताउनुभएको हो । वैठकमा सभापति थापाले विशेष महाधिवेशनबाट भएका निर्णयहरू सही र वैधानिक रहेको बताउँदै निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठेकै कारण यो विषय पुनः अदालत पुगेको बताउनुभयो ।
विशेष महाधिवेशनको वैधानिकतामा आफूहरू दृढ रहेको बताउँदै थापाले भन्नुभयो , ‘हिजो विशेष महाधिवेशन भएको कुरा त्यहाँको हलमा सत्य थियो, निर्वाचन आयोगमा सत्य थियो र अदालतमा एकपटक सत्य भएको कुरा अहिले पनि सत्य नै हुन्छ। अब सानका साथ अदालत जाने र त्यसको डिफेन्ड गर्ने हो।’
पात्र वा व्यक्तिका कारण संस्थामाथि प्रश्न गर्दा विश्वास घट्ने भन्दै कांग्रेसले न्यायालयप्रति पूर्ण विश्वास राख्ने र अदालतले बोलाएका बेला उपस्थित भएर आफ्नो कुरा राख्ने उहाँको भनाइ थियो।
यसैगरी, पार्टीभित्र विशेष महाधिवेशनमा सहभागी भएका र नभएका सबै नेतारकार्यकर्ताको हैसियत समान रहेको सभापति थापाले ‘यो पार्टी विशेष महाधिवेशनमा भाग लिने साथीहरूको मात्रै होइन, भाग नलिने साथीहरूको पनि उत्तिकै हो। सबैको हक बराबर छ, यहाँ कोही पहिलो र कोही दोस्रो दर्जाको छैन,’ उहाँले भन्नुभयो ।
