काठमाण्डौ , ११ असार । संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन्।
एक जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै जना भग्नावशेषभित्र पुरिएको ठानिएको छ।हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन्। मायामी डेडकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्।
भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो।
सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा छन्।
उद्धारकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घरेलु कामदारको अवस्था पत्ता लगाउन सकिरहेका छैनन्।
भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो।
खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्। फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए।
राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए।
उद्धारकर्ताहरूले क्रेनहरूको प्रयोग गरी नजिकै रहेका अपार्टमेन्टमा बसिरहेका मानिसहरूको उद्धार गर्ने प्रयास गरिरहेको देखिन्छ। आफ्ना भाइहरूसँग कुकुर डुलाउन हिँडिरहेका एक जना व्यक्तिले भवन खसेको आवाज सुनेको बताए।
उनले सीबीएस मायामीसँग भने, “हामीले एकदमै ठूलो घ्वार्र आवाज सुनौँ र सोच्यौँ यो मोटरसाइकलको आवाज हो। अनि हामी पछाडि फर्कँदा हामीले धुलोको बादल हामीतिर आइरहेको देख्यौँ।”
अनुहार ढाकेर त्यहाँबाट आफूहरू दगुरेको उल्लेख गर्दै उनले सुरक्षा गार्डलाई सोधेपछि भवन भत्किएको जानकारी पाएको बताए।
भवन भत्किए पछिको अवस्था देखेका अर्का व्यक्तिले सीएनएन समाचार संस्थालाई सन् २००१ मा न्यूयोर्कमा दुई वटा टावरमा गरिएको आक्रमणसँग तुलना गर्दै भने, “त्यहाँ ९/११ कै घटना जस्तो देखिएको थियो।–श्रोत, बिबिसी
