गण्डकी, २४ असारः विक्रम संवत् २०८२ वैशाखदेखि रिक्त रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा प्रा डा कुसुमाकर न्यौपाने नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार उहाँलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गर्नुभएको हो ।
पर्वतमा जन्मनुभएका प्रा डा न्यौपाने लोकसाहित्यका ज्ञाता मानिनुहुन्छ । उहाँ पोखराको पृथ्वीनारायण क्याम्पसको नेपाली विभागको विभागीय प्रमुखबाट हालै सेवानिवृत्त हुनुभएको थियो ।
प्रतिष्ठानको उपकुलपतिमा स्याङ्जाका शङ्कर विरही गुरुङ र सदस्यसचिवमा तनहुँका मनकुमार श्रेष्ठलाई नियुक्त गरिएको प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेलले जानकारी दिनुभयो ।
यस्तै, प्रज्ञा सभा सदस्यहरुमा कास्कीका अनुराग अधिकारी, गायत्री पराजुली, चोलेन्द्र पौडेल, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, रामभक्त जोजिजु, रामजीप्रसाद पौडेल र हरिमाया श्रेष्ठलाई मनोनयन गरिएको उहाँले बताउनुभयो ।
पर्वतबाट इन्द्रमान खत्री, कृष्णकुमार गुरुङ, शान्ति भुसाल, नवलपुरका ईश्वरीप्रसाद भुसाल, सञ्जु महतो थनेत, तनहुँका प्राडा ईश्वरचन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य, शान्ता बास्तोला, स्याङ्जाका कमल पौडेल ‘अथक’, म्याग्दीका भूपेन्द्र बानियाँ, लमजुङका वसन्त अधिकारी र गोरखाका डा वीरेन्द्र पुडासैनी प्राज्ञ सभा सदस्यमा मनोनीत हुनुभएको हो ।
विगत १४ महिनादेखि प्रतिष्ठान पदाधिकारीविहीन अवस्थामा थियो । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल गत वैशाख १५ गते सकिएको थियो । कुलपतिसहित सबै प्राज्ञसभा सदस्यको नियुक्तिका लागि २०८२ वैशाख २७ गते प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेको भएपनि पदाधिकारी नियुक्ति हुन सकेको थिएन ।
कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको आवेदन परेको थियो । भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी क्षेत्रमा सिर्जना, अध्ययन तथा अनुसन्धान गरी सम्बन्धित विषयमा ख्याति आर्जन गरेका व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारी र सदस्यमा नियुक्त गर्न सकिने व्यवस्था छ ।
–––
