काठमाडौँ, १५ असारः बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले संस्कृति र संस्कार संरक्षणका लागि संस्कृत भाषाको आवश्यकता रहेको बताउनुभएको छ ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र संस्कृत माध्यमिक विद्यालय रानीपोखरीको समन्वयमा ४० दिनसम्म भएको संस्कृत भाषा प्रशिक्षण कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश सरकार÷मन्त्रालयले संस्कृत, तामाङ, नेपाल भाषालगायतको प्रशिक्षण सञ्चालन गर्दै आएको र सबैको संस्कृति र मौलिकताको संरक्षण एवं विकासमा लागिपरेको उल्लेख गर्नुभयो ।

प्रशिक्षार्थीबाट माग भएको संस्कृत भाषा र ज्योतिषको एड्भान्स कोर्सका लागि सकारात्मक रहेको मन्त्री श्रेष्ठको प्रतिबद्धता छ । प्रदेश सरकारले भाषाको संरक्षण र विकासका लागि मात्र करिब रु तीन करोड बजेट खर्च गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । “सबै उमेर समूहका प्रशिक्षार्थीमा संस्कृत सिक्ने अद्भुत उत्साह देखेर अत्यन्त खुसी लागेको छ, संस्कृतलाई अनिवार्य विषय बनाउनुपर्छ तर यो कार्य केन्द्र सरकारको अधिकारमा रहेको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

संस्कृत माध्यमिक विद्यालयमा १२० घण्टे संस्कृत भाषा प्रशिक्षण कार्यक्रम गरिएको हो । दुई वटा समूहबाट प्रशिक्षण सञ्चालन भएको थियो । प्रशिक्षणमा ८२ जनाको सहभागिता रहेको थियो । प्रतिदिन तीन घण्टा प्रशिक्षण दिइएको थियो । बेलुकी ४ः०० बजेदेखि ७ः३० बजेसम्म प्रशिक्षण दिइएको हो । प्रशिक्षार्थीलाई निःशुल्क खाजा र स्टेसनरीको व्यवस्था समेत गरिएको थियो ।

प्रशिक्षणमा सेवानिवृत्त निजामती कर्मचारी तथा शिक्षक, सेवारत एमबिबिएस डाक्टर, इन्जिनियर, शिक्षक, व्यवसायी, गृहिणी, कलेज तहमा संस्कृत विषय अध्ययन गरिरहेका विद्यार्थी, विद्यालय तहमा साधारण विद्यालयमा पढिरहेका विद्यार्थीलगायतको सहभागिता थियो । चौध वर्षकी किशोरीदेखि ८२ वर्षका ज्येष्ठ नागरिकसम्म तालिममा सहभागी भएका थिए । प्रशिक्षणमा करिब ४० प्रतिशत महिलाको सहभागिता रहेको मुख्य प्रशिक्षक निश्चल अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जयतु संस्कृतम् संस्थाका सदस्य–सचिव प्रा डा नवराज कट्टेल, काठमाडौँ महानगरपालिका–२७ का वडाध्यक्ष तथा संस्कृत माविका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेशकुमार खड्गी र पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोख्रेललगायतले संस्कृत भाषाको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर