काराकास, ११ असार । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्याएका छन् ।
राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् ।
भूकम्पपछि राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले धेरै राज्यहरू प्रभावित भएको जानकारी दिनुभयो । उहाँले क्षतिग्रस्त घर तथा भवनहरूको यकिन विवरण, घाइते वा मृत्युको आधिकारिक सङ्ख्या भने सार्वजनिक गर्नुभएको छैन । सरकारले नागरिकहरूलाई शान्त रहन, एकताबद्ध हुन तथा सरकारी निकायहरूसँग समन्वय गर्न आग्रह गरेको छ ।
रोड्रिग्जका अनुसार देशको मुख्य हवाई प्रवेशद्वार सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेको छ । क्षतिको गम्भीरताका कारण विमानस्थल बन्द गरिएको छ भने विद्यालयका कक्षाहरू केही दिनका लागि स्थगित गरिएका छन् । शिक्षा मन्त्रालयले केही विद्यालयलाई अस्थायी आश्रयस्थल र राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने जनाएको छ ।
स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा उपस्थित भएर घाइतेहरूको उपचारमा सहयोग गर्न सरकारले आह्वान गरेको छ । तटीय फाल्कन राज्यका गभर्नर भिक्टर क्लार्कका अनुसार कम्तीमा ३२ जना अस्पतालमा भर्ना भएका छन् भने भूकम्प गएको चार घण्टापछि पनि १५ जना भग्नावशेषमा फसेका थिए ।
अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको तीव्रता सुरुमा ७।१ मापन गरे पनि पछि ७।२ मा संशोधन गरेको थियो । यसको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिक रहेको थियो । २२ किलोमिटर गहिराइमा गएको पहिलो भूकम्पपछि एक मिनेटमै ७।५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो । दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा तथा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलामा महसुस गरिएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये यी दुईलाई मानिएको छ । स्थानीय समयअनुसार साँझ ६ बजेपछि आएका ती भूकम्पका कारण राजधानी काराकासका मानिसहरू घर, कार्यालय र व्यापारिक भवनबाट बाहिर निस्किएका थिए । कतिपय क्षेत्रमा पर्खालहरू भत्किएका, सडकमा सामान छरिएका र धुलोका मुस्लाहरू उडेको देखिएको थियो ।
सूर्यास्तपछि पनि हजारौँ मानिसहरू सडक, खुला स्थान तथा पार्कमा बसेका थिए । धेरैले आफ्ना घरपालुवा जनावरलाई साथमा लिएर खुला स्थानमा रात बिताएका थिए । कतिपय सडकहरूमा ढलेका संरचना, बिजुलीका खम्बा र भग्नावशेषले आवागमन अवरुद्ध बनाएको थियो । राजधानीका केही क्षेत्रमा विद्युत् सेवा तथा मोबाइल सञ्जालसमेत अवरुद्ध भएको छ ।
काराकास निवासी हेक्टर रिक्कीले सुरुमा हल्का कम्पन महसुस भए पनि केही क्षणमै भूकम्प अत्यन्त शक्तिशाली बनेको बताउनुभयो । उहाँका अनुसार सबै मानिस घरबाट बाहिर निस्केर खुला स्थानमा भेला हुन बाध्य भएका थिए ।
सरकारले राजधानीमा मेट्रो सेवा तथा प्राकृतिक ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ । नागरिकहरूलाई सरकारी मोबाइल एपमार्फत आफ्नो क्षेत्रको क्षति विवरण उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।
मोबाइल सञ्जाल अवरुद्ध हुँदा देशबाहिर रहेका लाखौँ भेनेजुएलीहरूमा आफ्ना परिवारसँग सम्पर्क गर्न नसक्दा चिन्ता बढेको छ । विदेशमा निर्वासनमा रहेकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले सामाजिक सञ्जालमार्फत देशवासीलाई धैर्य र एकताको सन्देश दिनुभएको छ ।
गृहमन्त्री डिओसडाडो क्याबेलोले भूकम्प धेरै राज्यहरूमा महसुस गरिएको बताउँदै केही स्थानमा भवन र घरहरूमा गम्भीर क्षति पुगेको जानकारी दिनुभयो । उहाँले आपत्कालीन सवारीसाधनलाई प्राथमिकता दिन तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न आग्रह गर्नुभयो । सम्भावित परकम्पका कारण नागरिकहरूलाई खुला स्थानमा बस्न पनि सुझाव दिइएको छ ।
काराकास निवासी रोबर्टो गामासले भवन एक छेउबाट अर्को छेउसम्म अत्यन्त तीव्र रूपमा हल्लिएको बताउनुभयो । उहाँका अनुसार भूकम्पको शक्तिशाली धक्काले घरभित्रका सामानहरू खसेका थिए र मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निस्कन निकै कठिन भएको थियो ।
भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट पनि सहानुभूति र सहयोगका प्रस्ताव आएका छन् । संयुक्त राज्य अमेरिका, चिली, एल साल्भाडोर तथा इक्वेडरले आवश्यक मानवीय सहायता उपलब्ध गराउन तत्पर रहेको जनाएका छन् । अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लान्डाउले भेनेजुएली जनतासँग अमेरिका एकताबद्ध रहेको बताउनुभएको छ । एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले पनि सामाजिक सञ्जालमार्फत सहानुभूति व्यक्त गर्दै सहयोगको प्रस्ताव गर्नुभएको छ । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले तत्काल मानवीय सहायता पठाउन निर्देशन दिएको जानकारी दिनुभएको छ ।
भूकम्पको प्रभाव छिमेकी देशहरूमा समेत महसुस गरिएको छ । ब्राजिलको अमेजन क्षेत्रका मनाउस, बेलेम र मकापा सहरमा भवनहरू खाली गराइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोलम्बियाको क्यारिबियन तथा उत्तरपूर्वी क्षेत्रमा पनि कम्पन महसुस गरिएको भए पनि त्यहाँ क्षति वा मानवीय हानि भएको विवरण प्राप्त भएको छैन ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि केही समयका लागि सुनामीसम्बन्धी चेतावनी जारी गरे पनि पछि ती चेतावनीहरू फिर्ता लिइएको जनाएको छ ।
भेनेजुएलामा यस्ता शक्तिशाली भूकम्प कमै आउने भए पनि देश दक्षिण अमेरिकी र क्यारिबियन टेक्टोनिक प्लेटको सीमाक्षेत्र नजिक अवस्थित छ । यद्यपि मेक्सिको र चिलीजस्ता प्रशान्त तटीय राष्ट्रहरूको तुलनामा यहाँ ठूलो भूकम्प कम हुने गर्छ । वैज्ञानिकहरूका अनुसार विश्वका करिब ९० प्रतिशत भूकम्प हुने ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने देशहरूमा यस्ता घटनाहरू बढी दोहोरिने गरेका छन् । एपी
