काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो ।

 

लुम्बिनीद्वारा जितका लागि पाएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । आजको खेलमा सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै अविजित ६९ र आरिफ शेखले ३७ रन जोडे । सुदूरपश्चिमले ३९ रन जोड्दा दुई विकेट गुमाउँदा विनोद र शेखले ९९ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । विनोद प्लेयर अफ द म्याचसमेत चुनिएका छन् ।

 

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार  ओभरमा  १४३ रनमा अलआउट भयो । जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले तीन, हर्मित सिंहले तीन, हेमन्त धामीले दुई विकेट झारे ।

 

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भने चारमध्ये एक खेल मात्रै जितेको छ । दुई अङ्क  जोडेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । प्लेअफमा पुग्न बाँकी रहेका तीन खेल जित्नैपर्ने दबाब लुम्बिनीलाई बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर