स्टीभ रोजन्बर्ग

रुसी सम्पादक

काठमाडौ, ७ कात्तिक । तपाईँ आफू भ्लादिमिर पुटिन भएको कल्पना गर्नुहोस्।

युक्रेनमाथि धावा बोलेका कारण पश्चिमा जगत्‌ले तपाईँलाई काढेको छ। विश्वबजारबाट तपाईँको देशको अर्थतन्त्रलाई अलग्ग्याउने उद्देश्यसहित पश्चिमा राष्ट्रहरूले विभिन्न प्रतिबन्ध लगाएका छन्। अनि अन्तर्राष्ट्रिय फौजदारी अदालतले तपाईँविरुद्ध पक्राउपुर्जी जारी गरेको छ।

आफू त्यस्ता दबावसँग नझुकेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ ? शिखर सम्मेलन आयोजना गर्ने प्रयास गर्नुहोस्।

यो साता कजान सहरमा राष्ट्रपति पुटिनले ब्रिक्स शिखर सम्मेलनको सिलसिलामा २० भन्दा बढी राष्ट्रा प्रमुखहरूलाई स्वागत गर्ने छन्।

बैठकमा निमन्त्रित नेतामा चिनियाँ राष्ट्रपति सी जिन्पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति मसूद पेनेश्किआन पनि छन्।

क्रेम्लिनले त्यसलाई रुसमा “अहिलेसम्मकै भएका ठूलो स्तरको विदेशनीति कार्यक्रमध्ये एउटा” हुने जनाएको छ।

“यसको स्पष्ट सन्देश के हो भने रुसलाई एक्ल्याउने प्रयत्नहरू विफल भएका छन्,” परामर्शदाता कम्पनी म्याक्रो एड्भाइजरीका संस्थापकमध्येका एक क्रिस वीफर भन्छन्।

“रुसले प्रतिबन्धहरू धान्न सकेको छ भन्ने क्रेम्लिनको तर्फबाट यो एउटा ठूलो सन्देश हो। धरातलमुनि ठूलाठूला चिरा परेका छन् भन्ने हामीलाई थाहा छ। तर भूराजनीतिक तहमा रुससँग यी सबै मित्र छन् र सबै उसका साझेदार बन्न जाँदै छन्।”

ब्रिक्स राष्ट्रमा ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन्। पश्चिमा जगत्‌ले नेतृत्व गरिरहेको विश्वलाई टक्कर दिने समूहको रूपमा पनि यसलाई हेर्ने गरिन्छ। अहिले यो समूहमा इजिप्ट, इथियोपिआ, इरान र यूएई पनि समाविष्ट भएका छन्।

साउदी अरबलाई पनि आबद्ध हुन निम्तो दिइएको छ।

ब्रिक्स राष्ट्रहरूमा विश्वको ४५ प्रतिशत जनसङ्ख्या छ। ती सबै देशको गरी अर्थतन्त्र २८.५ ट्रिलिअन बराबरको छ जुन विश्व अर्थतन्त्रको २८ प्रतिशत हुन आउँछ।

रुसी अधिकारीहरूले गरेको सङ्केतअनुसार थप ३० मुलुकले ब्रिक्समा आबद्ध हुन चाहेका छन् अथवा अझ नजिकको सम्बन्ध स्थापित गर्न खोजेका छन्।

त्यस्ता केही देश आसन्न शिखर बैठकमा सहभागी हुने छन्। कजानमा यो साता ब्रिक्सबारे “विश्वको बहुमत”लाई प्रतिनिधित्व गर्ने खालका संवाद हुने ठानिएको छ।

तर भूराजनीतिक मञ्चमा भ्लादिमिर पुटिनलाई मौका उपलब्ध गराउनुबाहेक यो शिखर सम्मेलनले अरू के हासिल गर्न सक्ला त ?

पश्चिमा राष्ट्रहरूले लगाएका प्रतिबन्ध खुकुलो बनाउन व्यग्र रुसी नेतालाई ब्रिक्स सदस्यहरू भुक्तानीका निम्ति अमेरिकी डलरको विकल्पमा सहमत हुनेमा विश्वास छ।

“रुसी अर्थतन्त्रले सामना गरिरहेका धेरै समस्याहरू सीमापार व्यापार तथा भुक्तानीसँग सम्बन्धित छन्। अनि तिनमा धेरै चाहिँ अमेरिकी डलरसँग सम्बन्धित छन्,” वीफर भन्छन्।

“विश्वव्यापारमा अमेरिकी अर्थ मन्त्रालयको व्यापक शक्ति र प्रभाव छ किनकि त्यो निर्धारण गर्न मुख्य मुद्रा भनेको अमेरिकी डलर नै हो। रुसको प्रमुख चाहना अमेरिकी डलरको वर्चस्वलाई तोड्नु हो। ब्रिक्स सदस्यहरूले व्यापारको वैकल्पिक संयन्त्र बनाऊन् र सीमापार लेनदेनको संयन्त्र स्थापित गरून् भन्ने रुस चाहन्छ। त्यसमा अमेरिकी डलरको उपस्थिति नहोओस्, यूरो अथवा जीसेभन राष्ट्रका मुद्रा चलून् अनि प्रतिबन्धबाट कुनै फरक नपरोस् भन्ने रुस चाहन्छ।”

तर आलोचकहरू ब्रिक्सभित्रै मतभिन्नता रहेको औँल्याउँछन्। हाल रहेका सदस्यहरू “उस्तै सोच राख्नेहरू” हुन् भन्न अनुपयुक्त हुन्छ।

“चीन र भारत कुनै कुरामा सहमत हुन नसक्दा केही हदसम्म पश्चिमा मुलुकलाई फाइदा छ। ती मुलुक साँच्चिकै एकमत भए भने ब्रिक्सको प्रभाव व्यापक हुने छ,” गोल्डम्यान स्याक्सका भूतपूर्व प्रमुख अर्थशास्त्री जिम ओ’नील भन्छन्।

“धेरै समय एकअर्काको आलोचनामा समय खर्चिन नदिन चीन र भारतले सक्दो प्रयास गर्दै आएका छन्। आर्थिक विषयमा दुवै देशलाई सहकार्य गर्न लगाउने प्रयास गर्नु चुनौतीपूर्ण छ।”

बिसौँ शताब्दीको अन्त्यतिर उदीयमान चारवटा अर्थतन्त्रहरूका लागि ब्रिक भन्ने सङ्क्षिप्त रूप सोच्ने र “विश्वनीति निर्माणको केन्द्रमा त्यसलाई ल्याइनुपर्ने” विश्वास गर्ने व्यक्ति ओ’नील नै थिए।

तर ती देशहरूले आफ्नै ब्रिक समूह बनाए। दक्षिण अफ्रिका जोडिएपश्चात्‌ तिनले समूहको नाम ब्रिक्स राखे। तिनले धनी राष्ट्रहरूको समूह जीसेभनको वर्चस्वलाई टक्कर दिने प्रयास गर्ने छन्।

ब्रिक्सभित्र भारत र चीनबीच मात्रै मतभिन्नता छैन, दुई नयाँ सदस्यहरू इजिप्ट र इथियोपिआबीच पनि तनाव छ। अनि इरान र साउदी अरब लामो समयदेखि क्षेत्रीय प्रतिद्वन्द्वी रहिआएका छन्।

“उनीहरू आभारभूत रूपमा कुनै विषयमा सहमति गर्न लागेका छन् भन्नु कपोलकल्पना मात्रै हुन्छ,” ओ’नील भन्छन्।

रुसले “नयाँ विश्वव्यवस्था” को कुरा गरिरहँदा भारतजस्ता ब्रिक्सका अरू सदस्य पश्चिमा जगत्‌सँग सौहार्दपूर्ण राजनीतिक एवं आर्थिक सम्बन्ध राख्न चाहन्छन्।

कजानमा भ्लादिमिर पुटिनको काम मतभिन्नताहरूलाई पन्छाएर एकता प्रदर्शित गर्ने र रुसी जनता तथा अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो देश एक्लिएको छैन भन्ने देखाउने हुने छ। बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर