काठमाडौँ, १ मङ्सिर । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा झरेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७ दशमलव २१ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ८३ अङ्कले घटेर १८२ दशमलव ७७ मा पुगेको छ ।
त्यसैगरी, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले घटेर १६१ दशमलव ७६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपियाँमा खरिदबिक्री भएको छ । तेह्र उपसमूहमध्ये १२ उपसमूह घटेका छन् भने एक उपसमूह बढेको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ कम्पनीको घटेको छ । त्यसैगरी, नौ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र एपोलो हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
