काठमाडौं, २८ भदौ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको छ । ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरेको हो ।
यस कार्यबाट विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट भएको अनुरोधबमोजिम एमसीए–नेपालले विद्युुत् प्रसारण लाइनको १८ किमि खण्डको निर्माण कार्यलाई तीव्रता प्रदान गरेको थियो । एमसीए नेपालले निर्धारित समयसीमाभित्रै उक्त कार्य सम्पन्न गरेको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित न्यू बुटवल सबस्टेसनमा आइतबार आयोजित समारोहमा बोल्दै अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा। घनश्याम उपाध्यायले यस उपलब्धिको महत्त्वमाथि प्रकाश पार्दै नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीप्रति कृतज्ञता व्यक्त बताए ।
उनले भने, “नेपालको विकासप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा एमसीसी नेपाल कम्प्याक्टमार्फत उपलब्ध गराइएको सहयोगका लागि आभार व्यक्त गर्न चाहन्छु । यस प्रसारण लाइनको निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधारको सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि एक महत्त्वपूर्ण उपलब्धि हो ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सुनिल पौडेलले यस निर्माण सम्पन्नताबाट नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न हासिल गरिरहेको प्रगति प्रतिविम्बित भएको बताए ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यस उपलब्धिका लागि एमसीए नेपाललाई बधाई दिए । “यस प्रसारण लाइनको निर्माण नेपालको ऊर्जा क्षेत्रका लागि एक महत्त्वपूर्ण उपलब्धि हो । नेपाल सरकारको अनुरोधलाई सम्बोधन गर्दै समयसीमाभित्रै निर्माण कार्य पूरा गर्नका लागि एमसीए नेपालले गरेको प्रयासको हामी सराहना गर्छौं । यस उपलब्धिले नेपाल र भारतबीचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने बृहत् लाभ हासिल गर्ने दिशामा हामी एक कदम अगाडि बढेका छौँ,” उनले भने ।
एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो उपलब्धिले नेपाल सरकारका प्राथमिकताहरू पूरा गर्ने सन्दर्भमा एमसीए नेपालको प्रतिबद्धतालाई उजागर गरेको बताए ।
नेपालतर्फको १८ किमि प्रसारण लाइन खण्ड पूरा भएबाट सीमापार प्रसारण लाइनअन्तर्गत एमसीए नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएको छ । अब यो प्रसारण लाइनमा विद्युत् प्रवाह गरी यसलाई सञ्चालनमा ल्याउनुपूर्व नेपाल–भारत सीमापार विद्युत् प्रवाह गर्न आवश्यक कार्य एवं स्वीकृति प्राप्ति लगायतका बाँकी कामलाई अगाडि बढाइनेछ ।
यो १८ किलोमिटर खण्ड एमसीए नेपालको विद्युत् प्रसारण आयोजनाको एक अंश हो । यस आयोजनाअन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् ।
नेपालमा विद्युतको उपलब्धता र विश्वसनीयतामा सुधार ल्याउनुका साथै ऊर्जा सुरक्षा, भावी विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई टेवा पुर्याउन आवश्यक प्रसारण सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले यो आयोजना तयार पारिएको हो ।
