तेहरान, २८ भदौ । इरान र अमेरिकाबिच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन् ।
केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५स्०० बजे जहाजमाथि आक्रमण भएको थियो । “एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भयो र अन्य तीन जना घाइते भए”, तेमुरीले सरकारी टेलिभिजनमार्फत बताउनुभयो ।
आक्रमण कसले वा कुन पक्षले गरेको भन्नेबारे भने उहाँले स्पष्ट जानकारी दिनुभएन । स्ट्रेट अफ होर्मुजको सबैभन्दा ठूलो टापु केश्म वरपर रातभरि धेरै विस्फोट भएको खबरसमेत प्राप्त भएको थियो । विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज हाल अवरुद्ध अवस्थामा रहेको छ ।
यसै विषयमा छलफल गर्न इरान र खाडी मुलुकबिच ओमानमा बैठक बस्नुभन्दा एक दिनअघि उक्त घातक घटना भएको हो । इरान र अमेरिकाबिच करिब छ महिनादेखि जारी द्वन्द्वमा स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रण प्रमुख विवादको विषय बनेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीपछि जवाफमा इरानले जलसन्धि अवरुद्ध गरेको बताइएको छ ।
त्यसअघि यो जलमार्गबाट जहाज स्वतन्त्र रूपमा आवतजावत गर्दै आएका थिए । इरानले सुरक्षा र सार्वभौमिकताको कारण देखाउँदै होर्मुजबाट आवतजावत गर्ने जहाजले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । साथै, जहाजबाट सेवा शुल्क लिने संयन्त्रबारे पनि विचार गरिरहेको बताइएको छ । इरानी नियम पालना नगर्ने जहाजलाई आक्रमणको जोखिम हुने गरेको छ भने अमेरिकाले पनि होर्मुजमाथि तेहरानको नियन्त्रणलाई चुनौती दिने उद्देश्यले इरानी तटीय क्षेत्रमा छिटपुट हवाई आक्रमण गर्दै आएको छ ।एएफपी
