काठमाडौँ, २१ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा.शेखर कोइराला बिच आज भेटवार्ता भएको छ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटवार्तामा पार्टीभित्रको आन्तरिक विवाद समाधानका बारेमा भएको थियो । उक्त भेटमा नेता कोइरालाले पार्टी एकताका लागि आफू कुनै पनि पद त्याग्न तयार रहेको बताउनुभएको छ ।
भेटका क्रममा डा.कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै ‘मलाई कुनै पद चाहिँदैन, तर पार्टी मिल्नुपर्यो,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । डा.कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन आफ्नो तर्फबाट जस्तोसुकै त्याग गर्न पनि आफू पछि नहट्ने बताउनुभयो ।
जवाफमा सभापति थापाले आफू पनि पार्टीलाई मिलाएर लैजाने विषयमा अत्यन्तै संवेदनशील रहेको र सहमतिको वातावरण बनाउनका लागि यही भदौ २४ गतेदेखि तय भएको वडा अधिवेशनको कार्यतालिकालाई आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट पछि सार्ने पनि बताउनुभयो । ‘पार्टीभित्रको आन्तरिक समस्या मिलाउन म संवेदनशील छु, अधिवेशनको तालिका सारेर भए पनि मिलाउने प्रयास गरौँ,’ सभापति थापाले भन्नुभयो।
भेटघाटका क्रममा उनीहरूबिच गत भदौ १० गते नेपाल चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट तथा धादिङमा पुर्याएको क्षति र पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो । नेता डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेटवार्ता सकारात्मक भएको बताए पनि अन्य के के कुरा भयो भन्ने चाहिँ बताएनन् ।
