काठमाडौ, २१ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबिच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भेट भएको छ।

भेटवार्तामा दुई मन्त्रीबिच भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा जारी खोज, उद्धार र राहत कार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री खनालले नेपालको बाढी प्रभावित क्षेत्रमा अन्तर निकाय द्रुत प्रतिक्रिया टोली र कोरिया विपद् राहत टोली (केडीआरटी) पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ। उहाँले मानवीय सहयोग र राहत सामग्री उपलब्ध गराएकोमा पनि प्रशंसा गरेका थिए।

नेपालको अर्को प्राथमिकता लचिलो, टिकाउ र राम्रो पूर्वाधार निर्माण रहेको उल्लेख गर्दै खनालले यसमा कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने आशा व्यक्त गरेपछि जवाफमा विदेशमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार तयार रहेको र जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले बेहोर्नुपरेको क्षतिको ऐतिहासिक जिम्मेवारी विश्व समुदायको रहेको बताउँदै नेपाल र कोरियाले कोपजस्ता विश्वव्यापी मञ्चमा जलवायु परिवर्तनको प्रभावबारे अन्य देशलाई सचेत बनाउन मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि पनि कोरियाले आवाज उठाउने बताउनुभयो।

दुवैले लामो समयदेखिको मित्रता, पारस्परिक विश्वास र सहयोगमा आधारित द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र नयाँ उचाइमा पुर्‍याउन नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।

विदेशमन्त्री ह्युन भोटेकोशी बाढीमा कोरियाका नौ जना सम्पर्कविहीन छन्, उनीहरूको अवस्थाबारे जानकारी लिन विदेशमन्त्री नेपाल आउनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर