म्याग्दी १७ भदौ । म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देखे ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, उनले भने, “अहिले पहिलेको जस्तो कुण्डहरू देखिन छाडेको छ ।”

पहिले तालको किनारैकिनार हिँडेर आरोही र भरियाहरू आधार शिविर पुग्ने गरेकामा २०६४ सालमा तिलिचो तालबाट हिउँपहिरो खसेर जनधनको क्षति गरेपछि चार हजार १९० मिटर उचाइमा अवस्थित हालको आधार शिविर प्रयोगमा ल्याइएको पर्यटन व्यवसायी शेरचनले बताए ।

अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । अन्नपूर्ण र तिलिचो हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो । जिल्लाको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको पञ्चकुण्ड हिमतालमा जलवायु सङ्कटका छायाँ देखिन थालेको छ ।

अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । अन्नपूर्ण र तिलिचो हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो । जिल्लाको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको पञ्चकुण्ड हिमतालमा जलवायु सङ्कटका छायाँ देखिन थालेको छ ।

पञ्चकुण्डको पानी बग्ने मिस्त्रीखोला नारच्याङमा आएर कालीगण्डकी नदीमा मिसिन्छ । यो खोलाको पानी प्रयोग गरेर १५२ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पञ्चकुण्ड तालको विषयमा हालसम्म अध्ययन अनुसन्धान नभएको बताए ।

“विश्वव्यापी तापक्रम वृद्धिको असर देखिन थालेकाले पञ्चकुण्ड तालको जोखिमको अवस्थाका विषयमा अध्ययन गर्नुपर्ने महसुस गरेका छौँ”, उनले भने, “हामीसँग स्रोतसाधन र विज्ञ जनशक्ति नभएकाले सङ्घीय सरकारसँग अध्ययन अनुसन्धानका लागि अनुरोध गर्ने सोचेका छौँ ।”

विश्वको औसत तापमान १.५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १.८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विस्फोटन हुन दर बढिरहेको छ ।

कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढिरहेका म्याग्दीसमेत कार्यक्षेत्र भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भुकुमार मिश्रले बताए ।

उनका अनुसार गण्डकी प्रदेश सरकार मातहतको ताल प्राधिकरणले पञ्चकुण्डलगायत प्रदेशभरका सबै तालतलैयाको विद्युतीय प्रोफाइल तयार पारेको छ । हालसम्म यस हिमतालको विस्तृत भौगोलिक जोखिम मूल्याङ्कन भएको छैन ।

अन्नपूर्ण हिमनदी तीव्र खुम्चाइ, पर्माफ्रोष्टको छिटोछिटो पग्लने क्रमले ताल क्षेत्र वरपरको थर्मोकाष्टको अवस्थाको ल्यान्डसट, सेन्टिनेल प्रयोग गरी अध्ययनमात्र होइन, तालको गहिराइ, मोरिन बाँधको भौगोलिक अवस्थिति आदि पत्ता लगाउन जियो राडडर (जिपिआर), सिस्मिक र विद्युतीय इआरटी उपकरणमार्फत अध्ययन आवश्यक देखिएको छ ।

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पूर्णेश्वर सुवेदीले जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउन यस वर्ष कालीगण्डकी बेसिनमा जलवायु संवाद कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

“औद्योगिक देशहरूको कारण तापक्रम वृद्धिमा भएको असर हिमाली क्षेत्रमा देखिएको मुद्दालाई अन्तरराष्ट्रियकरण गर्न कालीगण्डकी जलवायु संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो”, उनले भने, “जलवायुजन्य विपद्को जोखिमयुक्त क्षेत्र पहिचान गरेर प्रविधियुक्त पूर्वानुमान प्रणाली प्रयोगमा ल्याउनुपर्ने महसुस गरेका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर