दमौली (तनहुँ), १५ जेठः नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाको समन्वयमा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्र (डकुमेन्ट्री) निर्माण गर्ने क्रममा बन्दीपुरको मौलिक सांस्कृतिक पहिचान बोकेको चुड्का नृत्यलाई समेटिने निर्णया भएको छ ।
डकुमेन्ट्रीको करिब एक मिनेट अवधिसम्म बन्दीपुरको परम्परागत चुड्का नृत्य प्रस्तुत गरिने जनाइएको हो । यसका लागि हाल बन्दीपुरमा छायाङ्कन कार्य सञ्चालन भइरहेको छ । विशेषगरी वृत्तचित्र छायाङ्कनका क्रममा भारतकी चर्चित नृत्याङ्गना तथा कोरियोग्राफर शक्ति मोक्तानसँग बन्दिपुरको चुड्का नृत्य समूहको सहकार्य भएको छ ।
स्थानीय कला र अन्तरराष्ट्रियस्तरका कलाकारबीचको यो सहकार्यलाई बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । बन्दीपुरको कला, संस्कृति र मौलिक परम्परालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउन सकारात्मक भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विशेषगरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विश्वभर दर्शकमाझ पुग्ने यस्ता सामग्रीले बन्दीपुरलाई सांस्कृतिक तथा ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष थापाको भनाइ छ ।
नेपालमा पछिल्ला वर्षहरूमा ग्रामीण तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न अभियान सञ्चालन भइरहेका छन् । सोही सन्दर्भमा बन्दीपुरलाई नेपालको मौलिक संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यको प्रतिनिधि गन्तव्यका रूपमा अघि सार्ने प्रयास भइरहेको जनाइएको छ ।
