काठमाडौँ, १५ जेठः सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गर्नुभयो ।

त्यस्तै पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बजेट वक्तव्यमा उल्लेख छ । अर्थमन्त्री वाग्लेले ‘सेयर कर्नरिङ’, ‘इन्साइडर ट्रेडिङ’जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति लिने उल्लेख गर्नुभयो ।
 पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गर्नुभएको छ । आव २०८३/८४ को बजेटमार्फत सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणालीमा थप सहजता दिने नीति अघि सारेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गरिने जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गरिने बताउनुभयो ।

लामो समयदेखि शेयर लगानीकर्ताहरूले माग गर्दै आएको पुँजीगत लाभकरको विषयलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको छ ।

नेपाली कम्पनीलाई विदेशी धितोपत्र बजारमा सूचीकृत हुन बाटो खुला
सरकारले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई विदेशी धितोपत्र बजारमासमेत सूचीकृत हुन सक्ने व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गर्नुभएको हो ।

बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वाग्लले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्नेगरी ‘ग्लोबल डिपोजिटरी रिसिट’ जारी गर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर