काठमाडौँ, ५ जेठः नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएलगत्तै उहाँले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्नुभएको हो ।
नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै डा शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
विसं २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मनुभएका नवनियुक्त प्रधानन्यायाधीश डा शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो । नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गनुभएका उहाँले त्रिभुवन विश्व विद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गर्नुभएको थियो ।
न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गर्नुभएका डा शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो । प्रधानन्यायाधीश डा शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ ।
