महेन्द्रनगर (धनुषा), १ जेठः ‘जनकपुर साहित्य महोत्सव’को सातौँ संस्करण आजदेखि सुरु भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा मिथिला फाउण्डेशनद्वारा आयोजित सातौँ जनकपुर साहित्य महोत्सवको मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले आज गर्नुभएको हो ।
प्रदेश प्रमुख कर्णले मिथिला क्षेत्रको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा साहित्य महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्ना मौलिक परम्परा, कला र सांस्कृतिक पहिचानसँग जोड्ने विश्वास व्यक्त गर्नुभयो ।
जनकपुरधाममा आयोजित महोत्सवमा नेपाल तथा भारतका साहित्यकार, लेखक, कलाकार, पत्रकार तथा बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवअन्तर्गत विभिन्न विषयमा बहस, कविता वाचन, सांस्कृतिक प्रस्तुती तथा साहित्यिक अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछन् ।
तीनदिने महोत्सवमा साहित्यदेखि सुशासन, पर्यटनदेखि खेलकुद, महिला लेखनदेखि सम्पदा संरक्षणसम्मका विविध विषयमा खुला रूपमा समूहगत छलफल हुनेछ । मिथिला फाउण्डेशनले विगत सात वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै आएको छ । यस महोत्सवलाई मिथिला क्षेत्रको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिँदै आइएको छ ।
आयोजकका अनुसार यसवर्ष कूल १३ वटा समूहगत खुला छलफल गरिनेछ । ‘मैथिली कथाको नेपाली संसार’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन हुन्छ खेलकुदमा खेलवाड ?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ ?’, ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’, ‘जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने सम्भावना’ तथा ‘नेपाली महिला लेखनः सङ्घर्षदेखि सिर्जनासम्म’ लगायत विषयमा लेखक, पत्रकार, अनुसन्धानकर्ता, नीति निर्माता र विभिन्न क्षेत्रका विज्ञबीच बहस हुने मिथिला फाउण्डेशनले जनाएको छ ।
