काठमाडौँ, ६ वैशाखः नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने भएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आमन्त्रण गर्नुभएको बैठकले शुक्रबार सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको टिमलाई आधिकारीकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको फैसलालाई स्वीकार गर्ने निष्कर्ष निकालेको नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने भएको छ, अब कांग्रेसलाई एकजुट बनाएर लैजाने विषयमा पनि छलफल भएको छ, अब खड्काले पनि निवर्तमान कार्यवाहक सभापतिकै रूपमा काम गर्ने कुरा भएको छ ।”
स्वतन्त्र न्यायापालिकाले गरेको फैसलालाई नेपाली कांग्रेसले मान्दै आएको जनाउँदै कानुनी र वैधानिकताको विषय टङ्गिए पनि राजनीतिक विषय भने बाँकी नै रहेको पनि बताउनुभयो ।
